यहाँका बाढीपहिरो पीडितले आगामी दशैंमा नयाँ घर पाउने भएका छन् ।
जिल्लाको मस्र्याङ्दी गाउँपालिका–३ अर्खलेगाउँका पहिरोपीडितका लागि निजी आवास निर्माण कार्य आगामी दशंै अगावै सम्पन्न हुने भएकाले दशंैबाट नयाँ घरमा बस्न पाउने भएका हुन् ।
दुई वर्ष अघिदेखि विस्थापित यहाँका १८ घरपरिवार हालसम्म कोही आफन्तको सहारा र कोही त्रिपाल एवं जस्तापातामुनि कष्टकर जीवन बिताउँदै आएका छन् ।
गाउँपालिकाका अनुसार अर्खलेबेँसी र पारि मस्र्याङ्दी गाउँपालिका– ६ को लाम्पाटाबगरमा घर निर्माण भइरहेको छ । गाउँका १८ घरलाई स्थानान्तरणका लागि घर निर्माण भइरहेको र निर्माण कार्य अन्तिम चरणमा पुगेको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए ।
पीडितमध्ये लाम्पाटा बगरमा ११, अर्खलेबेँसीमा छ घर निर्माणाधीन छन् । त्यस्तै, एक घर बाहुनडाँडामा बन्ने चरणमा रहेको गाउँपालिकाले बताएको छ । पहिरोले गाउँ नै जोखिममा परेपछि स्थानान्तरणका लागि नयाँ घर निर्माण तीव्र गतिमा अघि बढिरहेको र दशंैमा नयाँ घरमा उनीहरू बस्न पाउने गाउँपालिका अध्यक्ष गुरुङको भनाई छ ।
प्रतिपरिवारका लागि रू. सात लाखको लागतमा घर निर्माण भइरहेको गाउँपालिकाले बताएको छ । गाउँपालिकाका अनुसार यसमा संघ सरकारको ५० प्रतिशत, गण्डकी प्रदेश सरकारको ३० प्रतिशत र गाउँपालिकाको १० प्रतिशत बजेट रहेको छ । उक्त रकममध्ये जग्गा खरिदका लागि रू तीन लाख र घर बनाउन साढे चार लाख बजेटको व्यवस्था छ । विसं २०७७ मा अर्खले गाउँमा पहिरो आएपछि सिङ्गो गाउँ नै विस्थापित भएको थियो ।
सो पहिराले जोखिम बढाउँदै आएपछि २०७५ मा घरमा नबस्न वडा कार्यालयले अनुरोधसमेत गरेको थियो । तर, उनीहरूले पहिराको बेवास्ता गर्दै आएपछि २०७७ मा गएको पहिराले गाउँ नै विस्थापित बनाएको थियो । घर नहुँदा कष्टकर जीवन बिताउँदै आएका उनीहरूले यसपालिको दशंैमा नयाँ घर पाउने भएसँगै हर्षित भएका छन् ।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







