पाकिस्तानमा क्षेप्यास्त्र प्रहार गर्ने भारतीय वायुसेनाका तीन अधिकारी बर्खास्त


     एभरेस्ट आवाज    
     भाद्र ९ गते २०७९ मा प्रकाशित




भारतको सरकारले मार्चमा पाकिस्तानमा ‘दुर्घटनावश क्षेप्यास्त्र प्रहार’ गरेको आरोपमा वायुसेनाका तीन अधिकारीलाई बर्खास्त गरेको छ ।

यो घटनाले दुई आणविक शक्तिसम्पन्न मुलुक भारत र पाकिस्तानबीच तनाव बढाएको थियो ।

दिल्लीले नियमित मर्मत कार्य भइरहेका बेला प्राविधिक गडबडीका कारण सो घटना घटेको भन्दै ‘गहिरो खेद’ प्रकट गरेको थियो ।

त्यतिबेला इस्लामावादले दिल्लीलाई ‘यस्ता लापरबाहीका अप्रिय परिणामहरूप्रति सजग रहन’ र त्यस्तो घटना दोहोरिन नदिन चेतावनी दिएको थियो ।

एउटा विज्ञप्ति जारी गर्दै भारतीय वायुसेनाले ९ मार्चमा भएको यस घटनामा जिम्मेवार अधिकारीहरूलाई सेवाबाट बर्खास्त गरिएको जानकारी दिएको छ ।

साथै उक्त विज्ञप्तिमा अनुसन्धानबाट अधिकारीहरूले स्ट्यान्डर्ड अपरेटिङ प्रसिजरको विचलनको कारण ब्रह्मोस क्षेप्यास्त्रको आकस्मिक प्रहार हुन पुगेको पत्ता लगाएको उल्लेख गरिएको छ ।

आणविक हतियार बोक्ने क्षमतायुक्त क्रुज क्षेप्यास्त्र ‘ब्रह्मोस’ भारत र रुसले संयुक्त रुपमा विकास गरेका हुन् ।

पाकिस्तानको वायुसेनाले मार्चमा पाकिस्तानी वायुक्षेत्रमा पट्कनुअघि यो क्षेप्यास्त्रले ध्वनिको भन्दा तीन गुणा बढी गतिमा १२ हजार मिटरको उचाईबाट आफ्नो भूमिमा १२४ किलोमिटर दुरी पार गरेको बताएको थियो ।

बीबीसी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।