भारी वर्षाले सडकको भल गाउँ पस्यो


     एभरेस्ट आवाज    
     भाद्र ९ गते २०७९ मा प्रकाशित





मलेखु । भारी वर्षासँगै आएको भलले धादिङको नीलकण्ठ नगरपालिका–१२ ज्यामुनेटारमा दुई घर र एक गोठमा क्षति पुगेको छ । जङ्गल र खोल्साबाट सडकमा आइपुगेको भलपानी मानव बस्तीमा पस्दा घर गोठ र खेतीयोग्य जमिनमा क्षति पुगेको हो ।

भलले सावित्री ढकाल र रामकुमार श्रेष्ठको घरमा क्षति पुगेको छ । चेतनारायन श्रेष्ठको कुखुरा फार्ममा कामै नलाग्ने गरी क्षति भएको नीलकण्ठ–१२ का वडाध्यक्ष धर्मराज भण्डारीले जानकारी दिए ।

बुधबार साँझको भल घरभित्रै छिरेपछि सावित्री र राजकुमारको परिवार छिमेकीको घरमा बसेका छन् । दुईवटै घरको अन्नपात र लत्ताकपडा पनि कामै नलाग्ने भएको उनीहरुले बताए ।

नीलकण्ठ–१२ कै आलडाँडाभन्दा माथिबाट सडकमा जम्मा हुँदै आएको भल ह्युमपाइपले नधानेपछि सडक र बारीका कान्ला भत्काउँदै बस्तीमा ओइरिएको स्थानीयवासीले बताएका छन् ।

लेदो, माटो, ढुङ्गासहितको भलले बिजुलीका खम्बामा पनि क्षति पुगेको छ । एउटा बिजुलीको खम्बा ढलेर सावित्री ढकालको घरको कर्सामा अड्किएको छ ।

उता नीलकण्ठ–१२ कै केउरेली खोल्सामा आएको भलले पारस लम्सालको गोठ भत्काएको छ । केही घरमा पनि पानी पसेको छ । आसपासका खेतमा लगाइएको धान नस्ट भएको स्थानीयवासीले जानकारी दिएका छन् ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।