हुँदा खाने र हुनेखानेका तीज


     एभरेस्ट आवाज    
     भाद्र १० गते २०७९ मा प्रकाशित





काठमाडौँ । नाचगान गर्ने, मीठोमसिनो खाने र साथी सङ्गिनीसँग भेटघाटमा भलाकुसारी गरेर मनाइँदै आएको परम्परागत तीज भड्किलो, उत्ताउलो र फेसनदार बन्दै गएको छ । तीज हिन्दू नारीहरुले मनाउँदै आएको प्राचीन तथा महत्वपूर्ण चाड हो ।

यो चाड भाद्रशुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान, मनोरञ्जन र महिलामैत्री वातावरणमा मनाइने गरिन्छ । महिला अधिकारकर्मी निर्मला श्रेष्ठका अनुसार वर्ष दिनमा एकपटक चार दिनसम्म मनाइने तीज वर्गीयरुपमा विभाजन भएको स्वीकार्छन ।

समाजमा हुनेखाने वर्ग र हुँदा खाने वर्गले मनाउने तीज फरकफरकरुपमा मनाउन थालिएकामा उनी चिन्ता व्यक्त गर्छन । मौलिक परम्परा र नेपाली पहिरनमा गाउँघरका चोक, विभिन्न चौतारा तथा शिव भगवानका मन्दिरमा मनाइँदै आएको तीज अहिले होटल तथा विभिन्न पार्टीप्यालेसमा उत्ताउलो पहिरन, झकिझकाउ गरगहना, अस्वस्थ भोजभतेर र विभिन्न प्रकृतिका पेयपदार्थमा रम्न रुचाउने एकाथरी महिला तथा हुँदा रमाइलो गर्ने महिलाबीच समाजमा मतभेद देखिन थालेका छन् ।

तीजको वास्तविकस्वरुप परिवर्तन भएको छ । पहिलेका तीजमा पुराना तथा मौलिक एवं पीडादायी मर्मस्पर्शी गीतका भाषा सुनिन्थे । अन्याय, अत्याचार, विकृति, विसङ्गति, हेलाहोचो, विभेदपूर्ण व्यवहार, आरोप, अनावश्यक पीडा, दुःखकष्ट र विरहका गीत मेलापाता, पहाडका फाँट र घाँसपात गर्न जाँदा वनपखेराबाट गुञ्जिन्थ्यो ।

आजकाल वीरहका गीत पहाडका फाँट, मेलापाता र वनपखेरामा होइन, होटल तथा पार्टीप्यालेसमा फरक ढङ्गले सुन्न सकिन्छ । आजकाल तीज मनाउन स्थानीय सहकारी तथा अन्य सङ्घसंस्था एवं राजनीति दलका नेताहरुले आर्थिक सहयोग गर्ने गरेको पाइन्छ । विश्वका हरेक देशका आफनो संस्कृति÷वेषभूषा तथा परम्परा हुन्छन् ।

मौलिक परम्परा राज्यका अथाह सम्पत्ति हुन् । तिनीहरुको संरक्षण÷सम्वद्र्धन गर्नु सबै नागरिकको कर्तव्य हुन्छ । पछिल्लो समय अन्यत्रका संस्कृतिको नक्कल गर्ने तथा अरुको देखासिकी गर्ने चलनले तीजको मौलिकतामा आघात पुगेको स्वयं महिला स्वीकार्छन । तीज भाद्र शुक्लबाट सुरु भए पनि भोजभतेर, नाचगान, एक हप्ताबाट सुरु भइरहेका छन् ।

जो संस्कृतिका नाममा विकृति हो । हुनेखाने वर्गले एकहप्तासम्म तीज मनाउँदै आएका छन् । हँुदाखाने मीठो खानेकुरा खान, राम्रो लुगा लगाउन र साथीभाइसँग भेटघाट गरौँला भन्दै आउँदो तीजको गणना गर्दै बसेका छन् । शिक्षिका दुर्गा थापाका अनुसार हाम्रा आम ले मनाउने तीज र अहिले हामी जस्ता आधुनिक महिलाले मनाउने तीजमा व्यापक फरक छ ।

पहिलेका महिलालाई घरायसी कामकाजको बोझबाट प्रायः फुर्सद मिलाउन हम्मेहम्मे पर्र्दथ्यो । वर्षदिनका लागि एकदिन तीजमा मीठोमसिनो खानुपर्छ भन्दै जोहो गरेर छुट्याउने चलन थियो ।

वर्षदिनमा एकदिन तीजका लागि माइत जान पहिले नै सासूससुरा र आफनो पतिलाई खुसी राख्नुपर्दथ्यो । पछि आफैँले गनुपर्ने कामको चाजोपाँजो स्वयं आफैँले मिलाएर हिँड्नु पर्दथ्यो ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।