बागलुङ । बागलुङको निसीखोलामा धेरै धार्मिक तथा पर्यटकीय क्षेत्र छन् । कतिपय पर्यटकका आकर्षण केन्द्र बनेका छन् भने कतिपय भने मनमोहक हुँदाहुँदै पनि प्रचारको अभावमा ओझेलमा परेका छन् । यिनैमध्येका प्रचारमा आउन नसकेका निसीखोला गाउँपालिका वडा नं ६ मा पर्ने दिदीबहिनी झरना हुन् ।
उच्च पहाडको चुचुरोको फेदमा रहेका यी झरना मनमोहक छन् । मोराखोलाको शिरमा रहेका यी झरनामा अहिलेसम्म पर्यटक पुग्न सकेका छैनन् । एउटै खोलामा बगेको पानीमा चारवटा झरना बनेका छन् । एकै ठाउँमा एउटै खोलमा रहेकाले स्थानीयले यी झरनाको नाम दिदीबहिनी झरना राखेका छन् । शान्त वातावरण र उच्च पहाडी हावापानीमा छन् दिदीबहिनी झरना ।
झरनासम्म मध्यपहाडी लोकमार्ग हुँदै भल्कोटबाट तीनघण्टा पदैलयात्रा गरेर पुग्न सकिन्छ । मोराखोलामा बनेको चार झरनामध्ये सबैभन्दामाथिको जेठी, त्यसभन्दा तल बनेका झरनालाई क्रमसः माइली, साइँली र कान्छी भन्ने गरिएको छ । स्थानीयले सबैको नाम एकमुष्ठरुपमा ‘दिदीबहिनी’ राखेको स्थानीय बताउँछन् ।
झरना जङ्गलको बीचमा रहेको हुँदा स्थानीयले घाँसदाउरा गर्न जाँदा झरनाको पहिचान गरेका थिए । वर्षौं अगाडि झरनाको पहिचान भए पनि अहिलेसम्म प्रचारप्रसार र विकास भने हुन सकेको छैन । झरनाको फेदमा भल्कोटका स्थानीयले गोठ बनाएका छन् । गोठमा बर्सातको समय सयौँ गाईभैँसी र भेँडाबाख्रा बाध्ने गरिन्छ ।
चरन क्षेत्रका लागि उपयुक्त यो क्षेत्र वनभोजस्थलका रुपमा पनि निकै उत्कृष्ट मानिन्छ । गोठमा बस्ने गोठालाले यही झरनाको पानी पिउने गर्छन् । यो झरना पैदलयात्रा गर्नका लागि झनै उपयुक्त मानिन्छ । ओझेलमा परेका यी झरनाको गाउँपालिकाले प्रचारप्रचार गर्न थालेको छ । यहाँ पूर्वाधारसमेत निर्माणका लागि डिपिआरसमेत गरिसकेको छ ।
पर्यटकलाई झरनासम्म सहजरुपमा पुग्न पदमार्ग र सडकको राम्रो व्यवस्था हुनुपर्ने देखिन्छ । निसीखोला गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष हेमबहादुर बुढामगरले पर्यटक आकर्षित गर्न वडाले पदमार्ग, सडक निर्माण गर्ने बताए । अध्यक्ष बुढामगरले झरनालाई थप व्यवस्थित बनाउने र त्यस वरपर पार्कसमेत निर्माण गर्ने योजना बनाएको बताए ।
झरना भएको स्थान करिब तीन हजार मिटरको उचाइमा पर्छ । यहाँसम्म पुग्न सडक तथा पदर्माग निर्माण भए हिउँद बर्खा दुवै यामलाई सजिलो हुनेछ । यी झरनालाई बाहिर चिनाउन सकिए हिउँदमा हिउँ खेल्न र बर्सातमा गर्मी छल्न तथा हरियाली मौसमसँग रमाउनका लागि बागलुङ बजार र त्यो भन्दा परबाट पनि पुग्न सजिलो हुने देखिन्छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







