सत्र खेलबाट दुई सय ७९ खेलाडी छनोट


     एभरेस्ट आवाज    
     भाद्र १० गते २०७९ मा प्रकाशित





मङ्गलबारे । राष्ट्रिय खेलकुदका लागि इलामबाट विभिन्न खेलका खेलाडी छनोट गरिएको छ । पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुदको लागि जिल्लाबाट विभिन्न विधाका खेलका खेलाडी छनोट गरिएको हो ।

प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागिताका लागि खेलाडी छानिएको जिल्ला खेलकुद विकास समिति इलामका कार्यालय प्रमुख नारायण भट्टराईले जानकारी दिए । उनका अनुसार फुटबलसहित भलिबल, रग्बी, कराते, साइक्लिङ, ब्याडमिन्टनलगायत गरी १७ खेलबाट दुई सय ७९ खेलाडी छनोट गरिएको हो ।

बुद्धिचालतर्फ सबैभन्दा कम खेलाडीअर्थात् पुरुष दुई र महिला एक गरेर तीन खेलाडी छनोट गरिएको छ । त्यस्तै साइक्लिङ विधातर्फ तीन पुरुष र एक महिला राइडर छनोट गरिएको जनाइएको छ ।

यस विधाका लागि टाईसन राई, सागर तामाङ विश्वास राई र केसीका राईले इलामबाट प्रदेश छनोटमा सहभागिता जनाउने बताइएको छ । करातेबाट महिलातर्फ ४५ किलोदेखि ६८ किलो तौल समूह र पुरुषतर्फ ५० देखि ८४ किलोमाथिको तौल समूहका खेलाडी छनोट गरिएको छ । त्यसैगरी टिम कुमुते, टिम काता, एकल काताका खेलाडीसमेत छनोट गरिएको हो ।

सबैभन्दा बढी खेलाडी फुटबल खेलबाट छनोट गरिएको छ । महिलातर्फका उक सय ३० खेलाडीमध्येबाट २५ जनालाई प्रारम्भिक छनोट गरिएको थियो । प्रारम्भिक सूचीमा परेकामध्येबाट पछिल्लो पटक १६ खेलाडी छनोट गरिएको छ ।

त्यसैगरी पुरुषतर्फ एक सय ९५ खेलाडीमध्ये प्रारम्भिक सूचीमा ३६ खेलाडी रहेका थिए । त्यसबाट अन्तिम छनोटमा परेका १६ जनालाई बन्द प्रशिक्षणमा राखिने जनाइएको छ । यही भदौ ३ गतेबाट खेलाडी छनोट सुरु गरिएको जनाइएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।