केन्याविरुद्धको तेस्रो टी–२० खेलमा नेपाल विजयी भएको छ।
नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले केन्यालाई ४ विकेटले हरायो।
यस जितसँगै ५ खेलको टी–२० सिरिजमा नेपालले २–१ को अग्रता लिएको छ।
यसअघि, पहिलो खेलमा नेपाल ५ विकेटले विजयी बनेको थियो। दोस्रो खेलमा भने नेपाल केन्यासँग १८ रनले पराजित बनेको थियो। केन्याले दिएको १ सय ५७ रनको विजय लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा ६ विकेटको क्षतिमा १ सय ६० रन जोड्दै लक्ष्य पूरा गरेको हो।
नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए। अर्जुन साउदले ३५ रन बनाए। अर्जुनले यसै खेलबाट नेपाली राष्ट्रिय टोलीमा डेब्यू गरेका हुन्। रोहित पौडेल २९, पवन सर्राफले २० र आदिल अन्सारीले १६ रन बनाए।
बलिङमा केन्याका भिराज पटेल र युगिनी ओचिङले समान २/२ विकेट लिए। यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा एक सय ५६ रन बनाएको थियो।
केन्याका लागि रकिप पटेल र इरफान करिमले अर्धशतकीय इनिङ्स खेले। पटेलले अविजित ७३ र करिमले अविजित ५५ रन बनाए। कोलिन्स ओबुयाले १८ रन जोडे। बलिङमा नेपालका सोमपाल कामी र आदिल अन्सारीले १/१ विकेट लिए।
केन्यासँग पाँच खेलको टी–२० सिरिजमा नेपालले चौथो खेल आज (सोमबार) र पाँचौं खेल भदौ भोली (मंगलबार) खेल्नेछ । त्यसपछि २ टोलीबीच भदौ १७, १८ र २० गते एकदिवसीय सिरिज हुनेछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







