इन्सेक गण्डकीद्वारा मानवअधिकार रक्षकको संरक्षण र सम्बर्द्दनमा सरोकारवालाको भूमिका विषयमा अन्तर्क्रिया आयोजना


     एभरेस्ट आवाज    
     भाद्र १३ गते २०७९ मा प्रकाशित




पोखरा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकीले मानवअधिकार रक्षकको संरक्षण र सम्बर्द्दनमा सरोकारवालाको भूमिका विषयमा अन्तर्क्रिया गरेको छ ।
सोमबार पोखरामा भएको प्रदेश स्तरीय अन्तर्क्रिया ‘नेपालमा मानवअधिकार रक्षकको संरक्षण, सम्बर्द्दन, सरोकार र चुनौती’ बिषयक कार्यपत्र प्रस्तुत गर्दै इन्सेक गण्डकीका संयोजक शिव खकुरेलले मानवअधिकारमैत्री कानून निर्माण हुनुपर्नेमा जोड दिए ।उनले आवाजविहिनहरुको आवाजलाई उजागर गर्न रक्षकको खाँचो औंल्याए । विभेदकारी मनासय भएको व्यक्ति मानवअधिकार रक्षक हुन नसक्ने भन्दै संयोजक खकुलेलले सबैलाई समेटेर लैजानुपर्ने बताए । इन्सेकद्धारा मानवअधिकार रक्षकहरुको गरिएका प्रयासबारे स्पष्ट पार्दै खकुरेलले जोखिममा रहेकाहरुका लागि तत्काल उद्दार तथा उनिहरुविरुद्ध भएका घटनाहरुको अभिलेख राख्ने जस्ता कार्य गर्दै आइरहेको बताए ।

मानवअधिकार रक्षकहरुको सुरक्षा र संरक्षणका लागि छुट्टैखालको कानून निर्माण नहुनु, प्रदेश तथा स्थानीय सरकार मानवअधिकारप्रति संवेदनशील नहुनुले रक्षकहरुका सामु थुप्रै चुनौती रहेको पनि उनले स्पष्ट पारे । अधिकार संरक्षण र सुरक्षाका लागि प्रदेश सरकारले छिट्टै छुट्टै कानून र संयन्त्र निर्माण गर्न पहल गर्नुपर्नेमा उनको जोड थियो । नागरिकका अधिकार कुण्ठित भएमा कानूनी प्रक्रियामा जानुपर्ने उनले बताए ।
राष्ट्रिय मानवअधिकार आयोग गण्डकीका निर्देशक चन्द्रकान्त चापागाईंले सशस्त्र द्धन्द्ध, जनआन्दोलन, भुकम्प, कोभिड तथा अन्य समयमा आयोगले विभिन्न संघसंस्थाहरुको सहकार्यमा अनुगमन गर्दै आइरहेको बताए । मानवअधिकार रक्षकहरुको संरक्षण र सम्वर्द्दनप्रति आयोग प्रतिबद्ध रहेको उनको भनाइ छ । सही र गलत छुट्याउन सक्ने क्षमता मानवअधिकार रक्षकहरुमा हुनुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा मानवअधिकार रक्षक संरक्षण तथा प्रवर्द्दन केन्द्रका कार्यवाहक अध्यक्ष ढाकाराम पौडेल, राष्ट्रिय अपांग महासंघ गण्डकीका अध्यक्ष खोमराज शर्मा, गैर सरकारी संस्था महासंघ गण्डकीका कार्यवाहक अध्यक्ष पदमराज पहारी, नेपाल पत्रकार महासंघ कास्कीका कार्यवाहक अध्यक्ष रामप्रसाद तिमिल्सिना, अधिवक्ता बिनीता नेपाल, आशा राई, नौलो बिहानी पोखराकी प्रमुख रजनी थकाली (फुपु),शान्तिकालागि नागरिक समाजको संजाल कास्कीका पूर्व संयोजक बिष्णुप्रसाद बराल, इन्सेकका अधिकृत सवनम शर्मा ,अधिवक्ता कुञ्जनी परियार प्यासी र हुर्जा कास्कीका अध्यक्ष असफल गौतम लगायतले मानवअधिकार रक्षक स्वतन्त्र र निष्पक्ष हुनुका साथै मौलिकहकहरु कार्यान्वयनका लागि राज्यलाई दबाब दिनुपर्नेमा जोड दिएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।