आज हरितालिका तीज

- नाचगान र पूजा उपासना गरेर पर्व मनाइँदै


     एभरेस्ट आवाज    
     भाद्र १४ गते २०७९ मा प्रकाशित




आज भाद्र शुक्ल तृतियाका दिन अर्थात, हरितालिका तीज।

निराहार व्रत बसी श्रद्धापूर्वक शिवको पूजा गर्ने हिन्दू महिलाहरु विशेष पर्व हरितालिका तीजको दिन ।

तीजको व्रत बसेर शिवको पूजा गरे विवाहित महिलाका पतिको सुस्वास्थ्य र दिर्घायू हुने तथा अविवाहित युवतीहरुले सुयोग्य वर पाउने धार्मिक विश्वास छ। तीजको दिन निराहार व्रत बस्नुपर्ने भएकाले ब्रतालु महिलाहरुले अघिल्लो दिनको मध्यरातमै मिठा परिकार बनाएर दर खाने गर्दछन्।

अविवाहित नारीहरूले शिवजी जस्तै योग्य वर प्राप्त गर्न सकूँ भन्दै भगवान् शिवको व्रत–आराधना गर्छन् भने विवाहित महिलाहरूले पारिवारिक सुखशान्ति तथा दाम्पत्य जीवनको सफलताका लागि व्रत–आराधना गर्छन्।

पूजाआजा सकेपछि तीजका गीतमा नाचगान गर्ने चलन छ। तीज पर्वलाई महिलाहरुको मनको वह पोख्ने पर्वको रुपमा पनि लिने गरिन्छ।

परापूर्व कालमा हिमालयकी पुत्री पार्वतीले भगवान् शिवलाई पतिदेवको रूपमा प्राप्त गर्न सकूँ भनी घोर तपस्या गरिन्। यद्यपि, तपको विधि र तालिका नमिलेर उनको तपस्या सफल हुन सकेन। जगतका पालनकर्ता भगवान् विष्णुलाई पक्कै पनि आफ्नो तपस्या कसरी सफल हुन्छ भन्ने कुरा थाहा छ भनी पार्वतीले पहिले भगवान् विष्णु को प्रार्थना गरेको र विष्णुले भगवान् शिवलाई प्राप्त गर्न व्रत, उपासना तथा पूजा विधिका सम्बन्धमा बेलिबिस्तार लगाएको पौराणिक कथन छ।

विष्णुले दिएको जानकारीअनुसार पार्वतीले कठोर व्रत बसेपछि भगवान् शिव खुसी भई प्रकट भए र चिताएको कुरा पुगोस् भनी वर दिएको बताइन्छ। हरि र तालिका अर्थात् यही दिन पार्वतीले हरिको सल्लाहअनुसार पूजा आराधना गरी शिवलाई प्राप्त गर्न सफल भएकाले यस दिन हरि तालिका रहन गएको जनविश्वास छ।

पछिल्लो समयमा भने अधिकारकर्मीहरुले महिला अधिकारको लडाईंको रुपमा तीजलाई व्याख्या गरेका छन्।

तीजमा दाजुभाइले दिदीबहिनीलाई बोलाएर दर खुवाउने गर्छन्। महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रुपमा समेत तिजलाई उपयोग गर्ने गरेका छन्।

तीजको अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्ने चलन छ। पछिल्लो समय तीजका नाममा उच्छृंखलता र तडकभडक आएको भन्दै संस्कृतिविदले चिन्ता ब्यक्त गर्ने गरेका छन्।

हरितालिकाको दिन आज काठमाडौंको पशुपतिलगायत महादेवका मन्दिरहरुमा श्रद्धालु महिलाहरुको विहानैदेखि भीड लाग्ने गर्दछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।