अन्तरदेशीय व्यापार मेला नहुँदा स्थानीयवासी मर्कामा


     एभरेस्ट आवाज    
     भाद्र १४ गते २०७९ मा प्रकाशित




कोरला नाकामा अन्तरदेशीय व्यापार मेला सञ्चालन नहुँदा मुस्ताङका बासिन्दा मर्कामा परेका छन्।

चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको लोमान्थाङ गाउँपालिकाको सिमानामा रहेको कोरला नाकामा पछिल्लो तीन वर्षयता अन्तरदेशीय व्यापार मेला सञ्चालन हुन सकेको छैन । बर्खा र हिउँद शुरू हुनुअघि हरेक वर्ष असार र भदौ महिनामा लाग्दै आएको व्यापार मेला कोरोना (भाइरस)को महामारी फैलिएपछि रोकिएको थियो।

कोरोना महामारीको असर घटेको र खोपको विकास भइसकेपनि नाकामा व्यापार मेला सञ्चालन नहुँदा मुस्ताङका बासिन्दा मर्कामा परेका लोमान्थाङ गाउँपालिका–५ का वडा अध्यक्ष ढुढुके विष्टले बताए।

‘दैनिक उपभोग्य, निर्माण सामग्री, फर्निचर र लत्ताकपडा तिब्बतबाट ल्याउँदा सस्तो पर्छ,’ उनले भने, ‘मेला सञ्चालन नहुँदा भारतीय बजारबाट आयात भएका महँगो सामान उपभोग गर्नुपर्दा मर्का परेको हो।’

तिब्बतबाट च्यांग्रा आयात नहुँदा नेपालमा उत्पादन भएको भेडाच्यांग्राले माग धान्न नसक्दा मूल्य महँगिएको छ। सरकारले राजस्व गुमाएको छ। चीन र नेपालका प्रशासन तथा सुरक्षा निकायको समन्वयमा कोरला नाकाको १० किलोमिटर चीनको भूभागमा व्यापार मेला सञ्चालन हुने गरेको थियो।

नेपालीले भेडाच्यांग्रा, खाद्यान्न, लत्ताकपडा, निर्माण, किराना, विद्युतीय, इन्धन र कस्मेटिकलगायतका सामग्री आयात गर्दथे। बहुमूल्य यार्सागुम्बा, पश्मिना, आलु र फापरलगायतका सामग्री चीनतर्फ निर्यात हुन्थ्यो।

सांसद प्रेमप्रसाद तुलाचनले प्रतिनिधिसभा बैठकमा कोरला नाकामा व्यापार मेला सञ्चालनका लागि संसद्मार्फत परराष्ट्र मन्त्रालयमा ध्यानाकर्षण गराएका थिए। मेला सञ्चालन हुँदा लोमान्थाङको नेचुङमा रहेको भन्सार कार्यालयले वार्षिक रू १५ लाखको हाराहारीमा राजस्व संकलन गर्दथ्यो।

२०७२ सालको नाकाबन्दीपछि सरकारले उत्तर–दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर सडक आयोजनालाई कोरला नाकासम्म विस्तार गर्न विसं २०७४ देखि बेनी–जोमसोम–कोरला सडक आयोजना निर्माण शुरू गरेको थियो। जोमसोमदेखि कोरला जोड्ने एक सय १० किलोमिटर सडकमध्ये २५ किमी दूरीको चराङ–छोसेर खण्डबाहेक अन्य ६ ओेटा खण्डलाई दुई लेनको बनाएर ग्राभेल गर्ने काम सकिएको छ। कुल ७६ किलोमिटर दूरीको बेनी–जोमसोम खण्डको चार ओटामध्ये एउटा खण्डको कालोपत्र सकिएको छ।

लोमान्थाङ गाउँपालिका–१ छोसेरको नेचुङमा विसं २०७७ जेठमा स्थापना भएको सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी)को भवन निर्माण भइरहेको छ। सीमावर्ती क्षेत्रमा हुने सम्भावित अपराध नियन्त्रण, सीमासुरक्षा र स्थानीय जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २० जना सुरक्षाकर्मी खटाइएको छ।
रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।