कास्की । उपल्लो मुस्ताङ र चीनको तिब्बतको सीमा नाकामा लाग्ने व्यापार मेला तीनवर्षदेखि सञ्चालन हुन सकेको छैन । प्रदेशसभा सदस्य महेन्द्र थकालीका अनुसार असार र भदौमा हुने सो मेला गत तीन वर्षदेखि सञ्चालन नहुँदा स्थानीयवासी मर्कामा परेकोे जानकारी दिए ।
मेला नहुँदा समस्या भएकाले मुस्ताङका जनप्रतिनिधिले सम्बन्धित स्थानमा आवाज पनि उठाई रहेका छन तर पनि सुनुवाइ भएको छैन । सांसद प्रेमप्रसाद तुलाचनले गत जेठ २६ गते संघीय संसद् बैठकमा सो विषयलाई उठान गरेका थिए ।
उनले सीमा क्षेत्रका बासिन्दा मुख्य आम्दानीको स्रोत व्यापार भएको र कोरलानाकामा व्यापार मेला सञ्चालन हुन नसक्दा उपल्लो मुस्ताङवासी मर्कामा परेको विषयलाई सदनमा जानकारी गराएका थिए । उपल्लो मुस्ताङमा बर्सेनि एक बालीमात्र खेती हुने र उत्पादन गरिएको अन्नबालीले छ महिना थेग्न मुस्किल पर्ने उनको भनाइ थियो ।
कोरोना त्रासका कारण रोकिएको व्यापार मेला सङ्क्रमणको जोखिम शून्य अवस्थामा रहेकाले व्यापार मेलालाई निरन्तरता दिन स्थानीयवासी टसी गुरुङले प्रदेश सरकारसँग आग्रह गरेका छन । उनका अनुसार व्यापार मेलामा जानका लागि उपल्लो मुस्ताङीको नागरिकता देखाएर चीन प्रवेश गर्न पाउँथे ।
व्यापार मेलामा नेपालबाट पश्मिना, यार्सागुम्बा, आलु, फापरलगायतका सामग्री निर्यात हुन्थ्यो भने चीनबाट निर्माण सामग्री, खाद्यान्न, लत्ताकपडा, किराना सामग्री र भेडाच्याङ्ग्रा आयात हुने जनाइएको छ । कोभिडका कारण तिब्बतबाट भेडाच्याङ्ग्रा नेपाल नआउँदा भेडाच्याङ्ग्राको मूल्य आकाशिएको उनले बताए।
लोमान्थाङ गाउँपालिकाका निवर्तमान अध्यक्ष सुवर्ण विष्टले सरकारले दूरदराजका जनताको पीडा बुझ्न नसकेको गुनासो गरे । राज्यले लोमान्थाङलाई हेर्ने नजर फरक रहेको उनको धारणा थियो । भौगालिकरूपमा विकट भए पनि कोरलानाकासँगै लोमान्थाङको सांस्कृतिक सम्पदाले भरिपूर्ण लोमान्थाङको गुम्बा, गुफा तथा मन्दिरसँगै पुराना घर संरक्षणका लागि राज्यको आँखा जानुपर्ने उनको धारणा थियो ।
उपल्लो मुस्ताङीको समस्या बुझ्न र विकास निर्माणका बारेमा जानकारी लिन गण्डकी प्रदेश सरकार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल लोमान्थाङ समेत पुगेका थिए । तत्कालीन समयमा उनी कोरलानाकासम्मै पुगेका हुन । नाका पुगेर उनले गण्डकी प्रदेशको समृद्धिको मूल आधार कोरलानाका भएको थियो ।
व्यापार मेला नखुलेर स्थानीयवासीलाई परेको समस्याको सम्बोधन गर्दै उनले मेलामात्र होइन, नाका नै खोल्नुपर्नेमा जोड दिए । भन्सार सञ्चालनका लागि चीनले बनाएको संचरनाले पनि नेपाल सरकार र प्रदेश सरकालाई झक्झकाएको बताए ।
चीन सरकारले चीनको ढोङ्वासेनको बजारबाट कोरलानाकासम्मको सडक कालोपत्र गरेको छ भने आफ्नोतर्फ भन्सार, अध्यागमन र सुरक्षा निकायका लागि दुईवटा भवन बनाइसकेको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







