सात वर्षमा पनि बनेन पुल


     एभरेस्ट आवाज    
     भाद्र १६ गते २०७९ मा प्रकाशित




मनाङ प्रवेशका लागि सहज बनाउन निर्माण गर्न लागिएका पुल समयमा बन्न सकेका छैनन्।

एक वर्षमा निर्माण गर्नुपर्ने पुल सात वर्ष बित्दा समेत बन्न सकेको छैन ।

२०७३ असारमा मनाङको साविक थोँचेगाउँ विकास समिति अन्तर्गत दूधखोलामाथि पुल बनाउन द क्याराभान कम्पनीलाई ठेक्का दिइएको थियो। २०७४ असारभित्र सम्पन्न गर्नुपर्ने गरी साविक जिल्ला विकास समितिसँग सम्झौता भयो। तर हालसम्म निर्माण हुन सकेको छैन।

हालसम्म नदीको दुई किनारामा पुलका पिलर मात्र गाडिएका छन्। नदी किनारामा पिलर उठाएर निर्माण कम्पनीका ठेकेदार हालसम्म सम्पर्कविहीन रहेको बताइएको छ। उक्त पुल निर्माणको ठेक्का पाएको ठेकेदारले आधाभन्दा बढी रकम लगिसकेको पूर्वाधार कार्यालयले बताएको छ। धारापानीदेखि तिल्चे हुँदै तिब्बत जोड्ने सडकअन्तर्गत उक्त पुल अलपत्र अवस्थामा छ।

समयमै पुल निर्माण हुन नसक्दा मनास्लु पदमार्गमा जाने पर्यटकलाई यात्रामा समस्या हुनुका साथै चर्को ढुवानी शुल्क तिरेर सामग्री ढुवानी गर्नुपर्ने बाध्यता रहेको स्थानीयवासीले गुनासो गरे। ठेकेदारले यो पुल निर्माणका लागि कहिलेकाहीँ केही काम गरेजस्तो गर्ने र छोड्ने गरेको नासोँ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले बताए।

‘तिल्चेका बासिन्दा सानो सामग्री लिन पनि धारापानी पुग्नुपर्छ। कहीँकतै सडक बिग्रिएपनि डोजर ल्याएर मर्मत गरी सञ्चालनमा ल्याउनसमेत समस्या हुन्छ। पुल नबन्दा बाटो नै पूर्णरूपमा बन्द हुने गरेकाले दबाब दिइरहेका छौं, तर पनि ठेकेदारले अहिलेसम्म बनाउने चासो नै देखाएको छैन,’ उनले भने।

दूधखोला जस्तै मनाङका धेरै पुल निर्माण हुन सकेका छैनन्। मस्र्याङ्दी नदीमाथिको हुम्डेमा पुल बनाउन साविक जिल्ला विकास समितिले २०७३ असारमा अर्को ठेक्का लगायो। उक्त पुल निर्माणका लागि पनि द क्याराभान कम्पनीले नै ठेक्का पायो।

२०७४ मा सम्पन्न गर्नुपर्ने गरी भ्याटसहित रू. ४ करोड ५७ लाखमा ठेक्का दिइएको यो पुल हालसम्म पनि बन्न सकेको छैन।
समयमा निर्माण सम्पन्न हुन नसकेपछि पटक–पटक म्याद थप गरियो, तर कामको प्रगति हुन सकेन। तत्कालीन जिविसले विभिन्न समयमा मनाङमा ६ ओटा पुल निर्माणका लागि बोलपत्र निकालेकोमा सबै पुल निर्माणको ठेक्का क्याराभानले पाएको थियो। लमजुङ र म्यार्दी खोलाको पुल निर्माण भएर सवारीसाधन सञ्चालन भएको छ। तर, अन्य धेरै पुल अझैसम्म अलपत्र अवस्थामा छन्।

२०७४ असार ८ मा रू. २ करोड २६ लाख लागतमा निर्माण सम्झौता भएको तिमाङ खोलाको पुल निर्माण अन्तिम चरणमा रहेको अवस्थामा गतवर्षको बाढीले बगायो। २०७५ पुस ८ मा निर्माणको समय सकिए पनि हालसम्म यसको म्यादसमेत थप भएको छैन । उक्त पुलका लागि रू. ३ करोड ६९ लाख लागत अनुमानसहित डेढ वर्षमा सम्पन्न गर्न २०७४ जेठमा सम्झौता भएको थियो।
रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।