सय दिनको अवधिमा आशा जगाउने काम सुरु गरेको छु : प्रमुख साह


     एभरेस्ट आवाज    
     भाद्र १९ गते २०७९ मा प्रकाशित





काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले आफ्नो विगत एक सय दिनको अवधिमा नागरिकलाई आशा जगाउने कामको सुरुवात गरेको बताएका छन । महानगर प्रमुखको कार्यभार सम्हालेको एक सय दिन पुगेको स्मरण गर्दै आज प्रमुख साहले आफ्नो विगत सय दिनको कार्यकाल कस्तो रह्यो भन्ने बारेमा आफैँले मूल्याङ्कन गर्नेभन्दा पनि आम मानिसले कसरी हेर्नु भयो भन्ने बढी अर्थपूर्ण हुने बताए ।

अहिले सय दिनको दौडानमा रहे पनि आफूसँग पाँच वर्षका लागि योजना रहेको बताउँदै उनले अझै केही समय गाली र आलोचना मात्रै सहन तयार हेको भन्दै हतार गरेर महानगरका समस्याको दीगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार नरहेको सुनाए ।

फुटपाथ हटाएको प्रभाव बानेश्वर तथा असनलगायत क्षेत्रमा सकारात्मक रुपमा देखिन थालेको उनको भनाइ छ । ई–स्पोर्टसका लागि लागि रु एक करोड बजेट छुट्याइएको उनले बताए । मान्छे एउटै जीवनभित्र फरक फरक भूमिकामा हुने भन्दै उनले आफू सार्वजनिक व्यक्तित्व भएका कारणले समाजमा आफ्ना कार्यले पार्नसक्ने प्रभावका बारेमा भने सजग रहेको पनि बताए ।

फोहर व्यवस्थापनको सवालमा आशा गरे जति काम हुन नसके पनि झण्डै दुई दशकदेखि कुहिएर रहेको समस्यालाई सतहमा ल्याउन सफल भएको भन्दै प्रमुख सहाले त्यसबाट वास्तविक समस्याको पहिचान गरी दीगो समाधानका उपाय खोज्न सकिने बताए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।