पोखरा । केन्याविरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा लगातार तेस्रो जित निकाल्दै नेपालले क्लिन स्विप गरेको छ ।
नेपालले घरेलु टोली केन्यालाई एकदिवसीय सिरिजको अन्तिम खेलमा ६ विकेटले पराजित गरेको छ । केन्याको नैरोबीको जिमखाना मैदानमा आज भएको खेलमा केन्याले नेपाललाई जितका लागि २५६ रनको लक्ष्य दिएको थियो ।
जवाफमा नेपालले ४७ दशमलव १ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । नेपालको जितमा अर्जुन साउद, आसिफ शेख र वसिर अहमदले अर्धशतकीय इनिङ खेले । अर्जुनले ५८ रनको योगदान दिए भने आसिफले ५६ रन जोडे ।
यसैगरी बसिर ५२ रनमा अविजित रहँदा कप्तान रोहित पौडेलले ४६ रन बनाए । ज्ञानेन्द्र मल्ल ३३ रनमा आउट हुँदा देव खनाल एक रनमा आउट भए ।
केन्याका भिराज पटेलले २ तथा शेम एनगोचे र याश तालातीले १÷१ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५५ रन बनाएको थियो ।
केन्याका लागि कोलिन्स अबुयाले ८४ रनको अर्धशतकीय इनिङ खेले । यसैगरी लुकास एनडानडासनले अविजित रहँदै ५९ रनको योगदान दिएका थिए । सुखदिप सिंहले ३७ रन जोड्दा इमानुएल बुन्डीले २३ रन बनाए । कप्तान शेम एनगोचे १७ रनमा आउट भए ।
नेपालका सोमपाल कामी र आदील अन्सारीले समान २÷२ विकेट लिए भने बसिर अहमद र शाहब आलमले समान १÷१ विकेट लिए । उक्त सिरिजअन्तर्गत पहिलो एकदिवसीय खेलमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा १७ रनले विजयी भएको थियो ।
यस जितसँगै नेपालले केन्याविरुद्धको दुवै सिरिज आफ्नो पक्षमा पारेको छ । नेपालले यसअघि पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज पनि ३–२ ले जितेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







