धौलागिरि अस्पतालमा दुरविनमार्फत सफल शल्यक्रिया


     एभरेस्ट आवाज    
     भाद्र २१ गते २०७९ मा प्रकाशित




बागलुङको धौलागिरि अस्पतालमा पहिलो पटक दुरविन यन्त्रमार्फत ‘एपेन्डिक्स’को सफल शल्यक्रिया भएको छ । म्याग्दीको बेनी नगरपालिका–७ की २१ वर्षीया प्रतिसा बोलनको पहिलो पटक दुरविन यन्त्रमार्फत शल्यक्रिया भएको हो ।

बोलनको डाक्टर साजन कुँवर, डाक्टर सुवास खरेल, एनेस्थेसियोलोजिष्ट डाक्टर गणेश वन, नर्सिङ कर्मचारी गीता पुन र करिस्मा केसी लगायतको टिमले सफल शल्यक्रिया गरेको धौलागिरि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शैलेन्द्र विक पोखरेलले जानकारी दिए।

अस्पतालमा यसभन्दा अगाडिसम्म ‘ओपन सर्जरी’हुँदै आएकामा अबदेखि दुरविन यन्त्रमार्फत शल्यक्रिया हुने डाक्टर पोखरेलले बताए। गण्डकी प्रदेशभित्रका अस्पतालमध्ये सबैभन्दा पहिले धौलागिरि अस्पतालमा यो यन्त्रमार्फत शल्यक्रिया सुरु भएको डाक्टर विकले बताए ।

यो यन्त्रमार्फत हर्निया, एपेन्डिक्स र पित्तथैलीको पत्थरी शल्यक्रिया गर्न सकिने डाक्टर कुँवरले जानकारी दिए । “दुरविन यन्त्रमार्फत शल्यक्रिया गर्दा अस्पतालमा बसाइ छोटिन्छ, बिरामी घर छिटो फर्किन सक्छन्, त्यसले गर्दा अस्पतालमा बिरामीको चाप पनि बढ्दैन, ओपन सर्जरी जस्तो, ठूलो घाउबनाउनु पर्दैन, यो आधुनिक प्रविधियुक्त विधि हो”, डाक्टर कुँवरले भने ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट पोखरेलले अब हर्निया, एपेन्डिक्स र पित्त थैलीको पत्थरी शल्यक्रिया गर्नु पर्ने बिरामी पोखरा, काठमाडौँ जान नपर्ने बताए। उनले अहिलेसम्म अस्पतालमा शल्यक्रिया ‘ओपन सर्जरी’मार्फत गरिँदै आएको बताए ।

उनले भने, “औजार उपकरण र दक्षजनशक्ति भएपछि आधुनिक प्रविधिको प्रयोग गरेर उपचारलाई थप सहज बनाएका छौँ, यहाँ आवश्यकपर्ने औजार उपकरण सरकारसँग माग ग¥र्यौं र प्राप्त ग¥र्यौं, अब उपचार थपप्रभावकारी हुने अपेक्षा लिएका छौँ ।” रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।