नमुना मतपत्र छाप्न सुरु, ८ करोड मतपत्र छापिदैं


     एभरेस्ट आवाज    
     भाद्र २२ गते २०७९ मा प्रकाशित




निर्वाचन आयोगले मंगलबारबाट मतपत्र छाप्न सुरु गरेको छ ।

आगामी निर्वाचनका लागि आयोगले समानुपातिकतर्फको नमुना मतपत्र छाप्न सुरु गरेको हो ।

आयोगको आन्तरिक कार्यतालिका बमोजिम भदौ २० गतेदेखि नै मतपत्र छाप्न सुरु हुनुपर्नेमा तयारी नपुग्दा एक दिनपछि मतपत्र छाप्न सुरु गरेको हो ।

दुई दिनभित्र नमुना मतपत्र छपाइ सकेर समानुपातिकको मतपत्र छाप्न सुरु हुने निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणमा आयोगले निर्वाचन शिक्षा कार्यक्रमका लागि ६ लाख मतपत्र छाप्नेछ । आमनिर्वाचनका लागि आवश्यक सबै मतपत्र भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा छापिने आयोगले जनाएको छ ।

जनक शिक्षा सामग्री केन्द्र स्रोतका अनुसार मंगलबार अपराह्न ४ बजेदेखि मतपत्र छाप्न सुरु भएको हो । जनक शिक्षा सामग्रीको दैनिक १२ देखि १५ लाख मतपत्र छाप्ने क्षमता छ । आयोगका अनुसार नमुना मतपत्र छपाइ सकिएलगत्तै समानुपातिकतर्फको मतपत्र डिजाइन तयार गरेर जनक शिक्षालाई दिइनेछ ।

निर्वाचन आयोगले समानुपातिकतर्फको मतपत्रको डिजाइन अझै गरिसकेको छैन । राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)को चुनाव चिह्न के हुने सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको हुँदा आयोगलाई मतपत्र डिजाइन गर्न समस्या भएको थियो तर सर्वोच्च अदालतले गाई चुनाव चिह्न माग गरेको राप्रपा नेपालको रिट खारेज गरेको छ ।

यससँगै निर्वाचन आयोगले राप्रपा नेपाललाई प्रदान गरेको चुनाव चिह्न तीर नै कायम हुने भएको छ । सर्वोच्च अदालतले मंगलबार मात्रै उक्त रिट खारेज गरेको हो । आयोगका कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार अदालतको आदेशपछि चिह्न कायम गर्न र मतपत्र छपाइको अवरोध हटेको छ ।

८ करोड मतपत्र छापिने

मंसीर ४ मा हुने आमनिर्वाचनका लागि ५०३ प्रकारको करिब ८ करोड मतपत्र छापिनेछन् । आयोगको निर्वाचन शाखाका अनुसार समानुपातिकतर्फ ४ करोड र पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष)तर्फ ४ करोड मतपत्र छापिनेछन् ।

आयोगले आगामी चुनावमा करिब १ करोड ८० लाख मतदाता कायम हुने अनुमान गरेको छ । कायम रहेको मतदाताभन्दा १० प्रतिशत बढी मतपत्र छाप्दै आएको अभ्यास छ । आयोगले असोज २५ गतेभित्र मतपत्र छापिसक्ने लक्ष्य राखेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।