दाङमा धान उत्पादनमा कमी हुने


     एभरेस्ट आवाज    
     भाद्र २२ गते २०७९ मा प्रकाशित





देउखुरी । दाङमा समयमा पानी नपरेका कारण धानखेती प्रभावित भएको छ । आकाशे पानीबाट खेती लाग्ने जमिन बाँझै रहेका छन् । ती जमिन अहिले गौचरनमा परिणत भएका छन् । दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका रहेको दाङमा यस वर्ष समयमै पर्याप्त वर्षा नभएका कारण भदौ अन्तिम साता हुँदा पनि रोपाइँ हुनसकेको छैन ।

लमही नगरपालिका–१ नर्तीका रुपलाल चौधरीको १० कट्ठा खेतमा धानखेती गरेका छन । घोराही–६ का किसान बुद्धिराज वलीले छ कट्ठा जमिनमा लगाएको धान सबै सुकेर पहेँलो भएको छ । दाङमा यस वर्ष पानी नपरेपछि धान खेती प्रभावित भएको छ ।

आकाशे पानीको भरमा खेती हुँदै आएको जग्गा बाँझै छन् भने धान रोपेका खेतका गह्रा सुकेर चिरा परेका छन् । समयमा पानी नपाएको धानले उत्पादन कम दिने किसानको भनाइ छ । अधिकांश ठाउँमा रोपाइ भए पनि केही ठाउँमा भने पानीको अभावमा खेत बाँझै भएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ ।

देउखुरी क्षेत्रमा धान रोपाइँ भए पनि घोराही, तुलसीपुर र त्यसभन्दा पश्चिम क्षेत्रका कृषकले धान रोपाइँ गर्न नसकेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मनोजकुमार सिंहले बताए । उनका अनुसार यस वर्ष ८५ प्रतिशतमात्र धानखेती भएको छ भने बाँकी १५ प्रतिशत खेत बाँझै छ । दाङमा यस वर्ष ३९ हजार चार सय हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ ।

मौसम प्रतिकूलताका कारण अहिले जिल्लामा सबै क्षेत्रफलमा धान रोपाइँ नभएको र धान उत्पादनमा ह्रास आउने अनुमान गरिएको छ । जिल्लामा ६५ हजार नौ सय ८० हेक्टर जमिन खेतीयोग्य छ । त्यसमध्ये ३० हजार चार सय हेक्टर जमिनमा धान खेती हुँदै आएको छ ।

उन्नाइस हजार छ सय ५१ हेक्टर जमिनमा पूणरूपमा सिँचाइ सुविधा पुगेको छ भने बाँकी ३९ हजार दुई सय ११ हेक्टर जमिनमा आंशिक सिँचाइको व्यवस्था छ । कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार गत वर्ष नौ हजार तीन सय पाँच मेट्रिक टन बढी धान उत्पादन भएको थियो । अठतीस हजार चार सय ९७ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो ।

त्यसमा एक लाख ७९ हजार मेट्रिक टन धान उत्पादन भएको केन्द्रका सूचना अधिकारी सिंहले जानकारी गराए । कृषकले सुक्खा–२, ३, रामधान, विन्देश्वरी, सामा मन्सुली, सावित्री, हाइब्रेड, युएस–३१२ जातका धानका बीउ रोपेका छन् । लमही, चैलाही, गोवडिया, रामपुर कर्जाही, चैनपुर, फचकपुर, गुरुवागाउ,ँ गुरगै, बिजौरी, पर्सेनीलगायतका ठाउँमा बढी धानखेती हुन्छ ।

कृषकले विभिन्न उन्नत तथा स्थानीय जातको धान लगाएका छन् । दाङको देउखुरी क्षेत्रमा छिटो धान रोपाइँ हुने गर्दछ । जिल्लाका विभिन्न स्थानमा मकैजोन कार्यक्रम मात्र नभई तोरीजोन, स्मार्ट कृषिगाउँजस्ता कार्यक्रम पनि सञ्चालन भइरहेका छन् ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।