१७ बुँदे घोषणापत्र अक्षरस कार्यान्वयन हुन्छः प्रजापति समूह


     एभरेस्ट आवाज    
     भाद्र २३ गते २०७९ मा प्रकाशित




पवनकुमार प्रजापति समूहले उद्योगी व्यवसायीहरुको लागि समर्पित भएर लाग्ने प्रतिबद्धता जनाएको छ ।

बुधबार पोखरा उद्योग वाणिज्य संघको आयोजनामा भएको उम्मेदवार परिचय कार्यक्रममा बोल्दै अध्यक्ष प्रत्यासी पवनकुमार प्रजापतिसहित सम्पूर्ण पदाधिकारी र सदस्यहरुले आफ्नो प्रतिबद्धता सुनाएका हुन् ।

परिचय कार्यक्रममा उनीहरुले संघको गरिमा र उद्योगी व्यवसायीहरुको समस्या समाधानमा सदैव लाग्ने भन्दै आफ्नो समूहको पक्षमा मत मागेका थिए । पोखरा उद्योग वाणिज्य संघको आसन्न ३४ औँ महाधिवेशनमा आफ्नो प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका अध्यक्ष प्रत्यासी पवनकुमार प्रजापतिले १७ बुंदे घोषणापत्रमा उल्लेख सबै प्रतिबद्धताहरु अक्षरस कार्यान्वयन गर्ने बताए ।

‘म महासंघमा लामो समयदेखि विभिन्न पदमा रहेर काम गर्दै आएको छु । र, उद्योगी व्यवसायीहरुको समस्याप्रति मैले यसअगाडि पनि गम्भिर भएर काम गर्ने गरेको छु । यो पटक मैले अध्यक्षमा उम्मेदवारी दिईरहँदा अझै बढि जिम्मेवार भएर उद्योगी व्यवसायीको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु,’ प्रजापतिले भने, ‘सबै उद्योगी व्यवसायीहरुलाई म लगाएत मेरो टिममा रहेका पदाधिकारी र सदस्यहरुलाई मत दिएर जिताउन अनुरोध पनि गर्दछु ।’

त्यस्तै, वरिष्ठ उपाध्यक्षका प्रत्यासी गोकर्ण कार्कीले सबैभन्दा उपयुक्त नेतृत्वलाई आफूहरुले समर्थन गरेर प्यानल बनाएको उल्लेख गरे । समूहमा रहेका सबैजना संघका लागि आवश्यक र सक्षम व्यक्ति भएको दाबी गरे ।
उद्योग तर्फका उपाध्यक्ष उम्मेदवार हिरामणि पण्डितले संघका लागि सोच्ने र काम गर्ने नेतृत्वसहितको समूहलाई रोज्न मतदाताहरुसमक्ष आग्रह गरे ।

वाणिज्यतर्फ उपाध्यक्षमा उम्मेदवारी दिएका उत्तममान बुद्धाचार्यले संघको समुन्नत विकासका लागि पवनकुमार प्रजापति समूह नै सबैभन्दा उत्कृष्ट समूह रहेको बताए ।

प्रजापति प्यानलबाट महासचिव पदमा उम्मेदवारी दिएका बलराम आचार्यले संघको गरिमा कायम गरि आर्थिक स्रोत बढाउन आफूहरुलाई जिताउन आग्रह गरे ।

त्यस्तै कोषाध्यक्ष पदका उमेदवार दिनेशचन्द्र बाँस्तोलाले संघको आर्थिक स्रोत विकासमा आफूहरु दत्तचित्त भएर लाग्ने प्रतिबद्धता सुनाए ।

उपमहासचिव पदमा उम्मेदवारी दिएकी शोभा गौतमले संघलाई समानुपातिक र व्यवस्थित गराउन आफूहरुले उम्मेदवारी दिएको बताइन् ।

पवनकुमार प्रजापति समूहबाट सदस्य पदका लागि उम्मेदवारी दिएका प्रभा सुवेदी, बालकृष्ण कोइराला, बिनोद केसी, भीम गौतम, मनोजकुमार श्रेष्ठ, यमनाथ तिमिल्सिना, रामचन्द्र शर्मा, ललितबहादुर कुँवर, सुदीप ओझा र सुदीप प्रधानाङ्गले आ आफ्ना प्रतिबद्धताहरु सुनाए ।

प्रजापति समूहबाट सदस्य पदमा उम्मेदवारी दिएका सुदीप ओझाले भने आफू आइटी क्षेत्रको व्यवसायी भएकोले संघलाई प्रविधिमैत्री बनाउन आफूले भुमिका खेल्ने प्रतिबद्धता जनाए ।

भदौको २४ र २५ गते पोखरा उद्योग वाणिज्य संघको ३४ औँ महाधिवेशनमा प्रजापति समूहलाई अधिकांश उद्योगी व्यवसायीहरुले समर्थन जनाएको चुनाव प्रसार सचिवालयले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।