विराटनगर । कृषि र गैरकृषि जग्गा स्थानीय तहले वर्गीकरण गर्न नसकेकाले मालपोत कार्यालयमा जग्गा रजिष्ट्रेशनको काममा कमी आएको छ । भू–उपयोग नियमावलीअनुसार स्थानीय तहमा निर्माण भएको स्थानीय भू–उपयोग परिषद्ले समयमै आफ्ना काम नगरेकाले सो समस्या देखिएको भूमि सुधार तथा मालपोत कार्यालय मोरङका प्रमुख दिपक कोइरालाले जानकारी दिए ।
सङ्घीयता लागू भएपछि मालपोत कार्यालयमा प्राप्त हुने राजस्व स्थानीय तहमा पनि प्रतिशतको हिसाबले जाने व्यवस्था हुँदाहुँदै पनि जनप्रतिनिधिले समयमै काम गर्नुपर्ने कार्यालयको भनाइ छ ।
कृषि प्रयोजनका लागि दुई कठ्ठा र घरघडेरीका लागि कम्तिमा आठ धुरभन्दा काम जग्गाको कित्ता काट नहुने कानूनी व्यवस्था भएकाले यसमा परिषद्ले जनताको मार्कालाई ध्यान दिनु जरुरी रहेको प्रमुख कोइरालाले बताए ।
गत वर्ष साउन महिनामा दुई हजार छ सय ९४ लिखत पासबाट रु सात करोड ५७ लाख राजस्व रजिष्ट्रेशन बापत उठाउन सफल भएको यो कार्यालयले चालु आर्थिक वर्षको साउन महिनामा रु दुई करोड ४२ लाख मात्र राजस्व सङ्कलन गरेको छ ।
चालु आर्थिक वर्षको साउन महिनामा एक हजार एक सय ६९ वटा मात्र लिखत पास भएको बताइएको छ । आर्थिक वर्ष २०७८÷७९ मा कूल रु एक अर्ब ३२ करोड ५५ लाख राजस्व कार्यालयले उठाएको थियो ।
कार्यालयले अहिले लेखापढी व्यवसायीलाई परिचयपत्र अनिवार्यरुपमा बोक्न, लिने सेवा शुल्कको सूची राख्न र प्रक्रिया पूरा गरेर मात्र सेवाग्राहीको काम थाल्नुपर्ने सुधारको काम गरेको र यसबाट सेवाग्राही अनावश्यक झन्झटबाट मुक्त हुने चलन बसाएको प्रमुख कोइरालाले जानकारी दिए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







