पञ्चकोटमा नमूना यज्ञमण्डप बनाइँदै


     एभरेस्ट आवाज    
     भाद्र २४ गते २०७९ मा प्रकाशित




बागलुङ नगरपालिका–६ स्थित धार्मिक पर्यटकीय गन्तव्य पञ्चकोटमा आएका पर्यटक । पछिल्लो समय पञ्चकोटमा दैनिक करिब एक हजार पर्यटक आउने गरेका छन।तस्बिर:खेमराज गौतम


बलेवा । बागलुङ नगरपालिका–६ स्थित पञ्चकोटमा पञ्चनारायण मन्दिर परिसरमा नेपालकै एक नमूना यज्ञमण्डप बन्ने भएको छ । धार्मिक तथा पर्यटकीय सो क्षेत्रमा स्वामी कमलनयनाचार्यको अगुवाइमा विभिन्न दाताको सहयोगमा मन्दिर र यज्ञकुण्ड बन्न लागेको हो । पशुपति नाथ मन्दिरका ढाँचामा नमूना मण्डप बनाइने लक्ष्य राखिएको बताइएको छ ।

रु दुई करोड लागतको उक्त कुण्ड बनाउन रु १५ लाख सहयोग गर्नेलाई ‘क’ समूहको दाता, नौ लाख सहयोग गर्नेलाई ‘ख’ समूहको दाता, पाँच लाख सहयोग गर्नेलाई ‘ग’ समूह र तीन लाख सहयोग गर्नेलार्य ‘घ’ समूहको दाताको रुपमा राखिएको छ । साथै एक सय एक जनालाई एक लाख दान गर्ने अबसर दिने व्यवस्था मिलाएको स्वामी कमलनयनाचार्यले जानकारी दिए ।

बागलुङ नगर प्रमुख वसन्तकुमार श्रेष्ठले धौलागिरि क्षेत्रकै धार्मिक गन्तव्य र पर्यटकीय केन्द्र बन्ने क्रममा रहेकाले सबैको साथ र सहयोगमा पञ्चकोटको निर्माणमा साथ दिनुपर्ने बताए । उनले सर्वसिद्धिधामको रुपमा विकास भएपछि आउने पर्यटकबाट जिल्लाको समृद्धि सम्भव हुने भन्दै किसानदेखि व्यवसायीले काम गरेर रम्न पाउने व्यवस्था हुने उनले बताए ।

जैमिनी नगर उपप्रमुख हरिहर शर्माले जिल्लाको पहिचान बनाउन उक्त स्थानमा यज्ञकुण्ड र पञ्चनारायण मन्दिरसँगै रहने गरी बन्नुपर्ने बताए । तीन छानाको बन्ने मन्दिरको छाना भने तामाले छाउने व्यवस्था हुनेछ । यो मन्दिर रहेको स्थान सबैतिरबाट देखिने गरी बन्नेछ । हाल नमूना कलश राखिएको स्थानमा मन्दिर बनाउन लागिएको हो ।

आगामी छदेखि नौ महिनाभित्रै मन्दिर बनिसक्ने लक्ष्य राखिएको पञ्चकोट क्षेत्रका सचिव नारायण शर्माले जानकारी दिए । एक सय आठ फिट अग्लो कलश बनाउने योजनाअनुसार यहाँ पूर्वाधार निर्माणाधीन छ । यो अभियान पूरा गर्न अर्बौं रकम लाग्ने अनुमान छ ।

पछिल्लो सात वर्षदेखि यहाँ महायज्ञ लगाउने, अन्य अभियान र नगरपालिका, गण्डकी प्रदेश सरकार तथा अन्य सहयोगी हातबाट पञ्चकोटको निर्माण भइरहेको हो । यहाँ निर्माण गर्ने भनिएका पूर्वाधार सम्पन्न हुँदा आर्कषक गन्तव्य बन्ने छ । अग्लो कलशलाई पानीको संरक्षण गर्ने र पानी सभ्यतासँग जोड्ने योजनासमेत बनाइएको स्वामी कमलनयनाचार्यले बताए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।