जाइका प्रमुख र पोखरा महानगर प्रमुख आचार्यबीच भेटघाट


     एभरेस्ट आवाज    
     भाद्र २७ गते २०७९ मा प्रकाशित




जापानी सहयोग नियोग (जाइका) का प्रमुख ओकुबो अकिमित्सुसहितको टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसहित महानगरको प्रतिनिधि मण्डललाई भेट गरेको छ।

प्रमुख आचार्यको कार्यकक्षमा भएको भेटघाटमा जाइकाद्वारा सञ्चालित खानेपानी आयोजनाको हालसम्मको प्रगति र समस्याबारे छलफल गरेको थियो।

पोखराको खानेपानी व्यवस्थापनका लागि लाइन विस्तारको काम गरिरहेको जाइकाले करिब ८८ प्रतिशत काम सम्पन्न गरेको बताएको छ। सडक विभाग अन्तरगतका सहरी सडकमा लाइन विस्तार र पस्र्याङ–सिद्धार्थचोक खण्डमा केही प्राविधिक समस्या देखिएकाले सो समस्या समाधानका लागि सम्बन्धित सरोकारवाालहरुसँग आवश्यक समन्वय गरिदिन ओकोबु नेतृत्वको टोलीले महानगरका प्रमुख आचार्यलाई आग्रह गरेको छ।

जवाफमा प्रमुख आचार्यले ती समस्या समाधानका लागि सडक विभाग, खानेपानी संस्थान लगायतका सरोकारवालाहरुसँग यथाशीघ्र समन्वय गरी छलफलको वातावरण तयार गर्ने प्रतिबद्धता जनाए। खानेपानीको लाइन विस्तारका क्रममा देखिएका बाधा अड्चनहरूको तत्काल समाधान गरी पोखरेलीहरूलाई शुद्ध खानेपानी वितरण गर्ने कार्यमा महानगरपालिका प्रतिबद्ध रहेको प्रमुख आचार्यले बताए।

आचार्यले भने, ‘पोखरेलीहरूलाई शुद्ध खानेपानी खुवाउने महानगरको योजनामा जाईकाको योगदान अतुलनीय छ।’
यस कार्यमा कुनै प्रकारको अवरोध सृजना भए तत्काल समाधानका लागि महानगरपालिकाको तर्फबाट आवश्यक सहजीकरण गरिने प्रमुख आचार्यले बताए।

भेटघाटमा जाईकाका प्रमुख ओकुबो अकिमित्सुसहित कातो कुमिको, सुगियामा शिगेरु र इन्जिनियर हरि तिमिल्सिनाको सहभागिता थियो।

पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, प्रशासकीय प्रमुख वीरेन्द्रदेव भारती र इन्जिनियर राजु रेग्मीको सहभागिता थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।