पोखरामा केहि वर्ष अघि दाईं गर्दै किसान तस्बिर : कृष्णमणी बराल
मंसिरको महिना, वर्खामा लगाएको खेती थन्क्याउने समय । देशैभरका किसानहरुलाई बाली थन्क्याउन भ्याईनभ्याई छ । पोखरापनि यसबाट अछुतो रहने कुरै भएन । अहिले पोखरामापनि बाली थन्क्याउने चटारो उत्तिकै छ । कति किसानले धान थन्क्याएर आलु लगाई सके पनि अझै पनि धेरै जसो किसान धान थन्क्याउन नै व्यस्त छन् ।
असारमा रोपिएको धान मंसिरको अन्तिमसम्म लगभग थन्क्याई सकिन्छ । यहि धान भकारीमा राखेर वर्ष भरिका लागि जोहो गर्ने नेपाली परम्परा हो । नेपालमा परम्परागत रुपमा धानको कुनियो लगाउने र दाईं गरेर धान झार्ने परम्परा रहेको छ । कसैकसैले धान झाँटेर पछि दाईं गर्नेपनि गर्छन् ।
दार्ईं गरेर झारेको धान सफा गरेर भकारीमा राख्ने गरिन्छ । तर परम्परागत रुपमा गरिदै आएको दाईं र वर्ष भरिकालागि भकारीमा धान थन्क्याउने परम्परा पोखरामा भने लोपोन्मुख अवस्थामा पुगेको छ । पोखरामा बढ्दो सहरीकरणसँगै यहाँका बासिन्दाहरु सौखिन बन्दै जाँदा खेतीपातीमासमेत कमी आउनुका साथै दाईं गर्ने र भकारीमा धान राख्ने परम्परा हराउँदै गएको हो ।

पोखराका मुख्य बजार वरपरका खेतहरु प्लटिङ गरेर बजार बस्ने क्रम तिव्र छ । पर्यटकीय राजधानी पोखरा देश संघीयतामा गए संगै गण्डकी प्रदेशको पनि राजधानी भएको छ । अन्तराष्ट्रिय विमानस्थल निर्माणको क्रम अन्तिम चरणमा पुगेको छ । पोखराको विकासको क्रम बढे संगै यहाँका मुख्य बजार वरपरका खेतहरु शहरमा परिणत भएका छन् ।
पोखराको चाउथे, विरौटाफाँट, कुँडहरफाँट, पामे, लेखनाथको खुदी, सिसुवा, लामेआहाल, भरतपोखरी, निर्मलपोखरीलगायतका क्षेत्र खेतीका लागि प्रसिद्ध थिए । तर ती खेतीयोग्य जमिनमा कंक्रिट घरहरु बन्न थाले र त्यस क्षेत्रमा सहरीकरण बढ्दा खेतीपाती लगाउन छाडियो र दाई लगाउने, भकारीमा धान राख्ने परम्परा लोपोन्मुख हुँदै गयो ।
पहिले पहिले घर घरमा गोरु पाल्ने चलन थियो । धेरै खेतबारी हुनेका हल गोरु नै हुन्थ्यो । त्यहि हलगोरुले जोतेर खेती लगाईन्थ्यो । पोखरेली रैथानेले छोराछोरी पढाउँदा, विहेबारी गर्दा, घर बनाउँदा खेतबारी बेचेर दैनिकी चलाउन थाले । व्यवसायिक नहुँदा पोखरेली रैथानेहरु केही त घर खेत नै बेचेर मधेश पसे । यसैले यहाँका बाँकी रहेका खेतहरुमा पनि गोरुले होइन ट्याक्टरले जोत्न र ट्याक्टरले नै दाइँ राख्ने क्रम सुरु भएको छ ।

हुन त कृषि उत्पादन बढाउन र लागत कम लगाउन कृषिमा आधुनिकीकरण हुनु जरुरी छ । यसैले गोरुको विकल्पमा ट्याक्टर, धान काट्ने मसिनको प्रयोग अति महत्वपूर्ण छ । तर हामीहरुकोमा कृषि उत्पादन हुने उर्वर भूमि सकिएपछि मात्र कृषिमा आधुनिकीकरण सुरु भएको छ । पहिले नै आउनु पर्ने प्रविधि पछि आएर हामी उल्टो बाटोमा हिंडिरहेका छौ । प्रविधि छ कृषि भूमी छैन भने जस्तो अहिले पोखराका मुख्य बजार वरपरका हजारै रोपी जमिनमा कंक्रिट विल्डिङमा परिणत भएपछि आएको छ ट्याक्टरले जोत्ने प्रविधि । अझै पनि हामीकोमा धान काट्ने मसिन भने आइपुगेको छैन् ।
पहिले पहिले घर घरमा गोरु हुँदा सारै रमाइलो कृषि कर्म हुन्थ्यो । अर्मपर्म चल्थ्यो । परेली लगाइन्थ्यो । परेली भनेको एकएक वटा गोरु पाल्ने किसान बिच दुई घर ‘परिवार’ मिलेर खेती गर्दा गोरु, खेतला, बाउँसे काममा सहकार्य गर्नु हुन्थ्यो । अहिलेका नयाँ पुस्ताका लागि यो कथा जस्तो लाग्छ । अहिले त लोकल गाई सस्ता भएका छन् । सडकमा छाडिएका छन् । बाच्छा पाए भने दुधै खान नदिएर लखट्ने चलन छ । यसरी स्थानीय जातका गाई लोप हुने अवस्थामा पुगेका छन् ।
मंसिरमा एक पटक घर बाहिर खेत, बारीमा खाना पकाएर खाने चलन पहिले देखिकै हो । अहिले पिकनीक भनिने शब्द पहिले कराई खाने (वनभोज) भनिन्थ्यो । दाइँमा खेतमै खाना पकाएर सबैले मिलेर खाने चलन थियो । यसरी खेतमा खाना खाँदाको स्वाद नै बेग्लै हुन्थ्यो । यो संस्कृति अझै पनि पोखरा बजारमा केहि मात्रामा प्रचलनमा छ । तस्बिरहरु : कृष्णमणी बराल
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







