गलकोट । बागलुङ बजारका नम्रता शर्माको घरमा विद्युतीय चुलो प्रयोग भएको चार महिना भयो । रुस–युक्रेन युद्धका कारण विश्वबजारमा पेट्रोलियम एवं ग्यासको मूल्यमा भारी वृद्धि भएपछि उहाँले रु चार हजार खर्चेर विद्युतीय चुलो खरिद गरेका थिए । खाना पकाउने एलपी ग्यासको निरन्तर मूल्यवृद्धिका कारण आम उपभोक्ता विद्युतीय इन्डक्सन चुलोप्रति आकर्षित हुन थालेका हुन् ।
ग्यासको विकल्पमा विद्युतीय चुलो प्रयोग गर्न थालेपछि दुई महिनामा सकिने ग्यास सिलिन्डर चार महिना बित्दासमेत नसकिएको बताउँदै उनले सुरुको विद्युतीय चुलोको लगानी नजोड्ने हो भने लगभग विद्युतीय चुलोमा दोब्बर फाइदा हुने उल्लेख गरे ।
विद्युत्मा पकाएको खाना नमिठो हुने सुन्दै आउनुभएकी शर्माले राइसकुकरभन्दा विद्युतीय चुलोमा प्रेसर कुकरको प्रयोग गर्दा ग्यासमा नै पकाए जस्तै खाना पाक्छ भने । बागलुङ बजारमा पछिल्लो समय विद्युतीय चुलोको माग उच्च रहेको विद्युतीय उपकरण बिक्रीकर्ताले बताए ।
विद्युतीय चुलोे धेरै पहिलेदेखि नै बिक्री भए पनि पछिल्लो समय परिमार्जन भएर आएको विद्युतीय चुलोको माग ह्वात्तै बढेको बागलुङ बजारको शङ्कर इलेक्ट्रिोनिक्सका सञ्चालक शङ्कर नकर्मीले बताए । नकर्मीका अनुसार ग्यास विस्थापित नभएपनि त्यसको विकल्पमा विद्युतीय चुलो प्रयोग हुँदा ग्यास खपतमा कमी आएको र उपभोक्तालाई केही राहतसमेत मिलेको छ ।
विद्युतीय चुलो चलाउनका लागि न्यूनतम १५ एम्पियर क्षमताको मिटर जडान गर्नुपर्ने हुन्छ । बागलुङ बजारका पक्की घरमा धेरैले १५ एम्पिएर भन्दामाथि क्षमताको विद्युत् जडान गरेका छन् । सरकारले विद्युतीय चुलो प्रवद्र्धन गर्न प्रत्येक घरधुरीमा निःशुल्क विद्युतीय चुलो वितरण गर्ने योजना अघि सारेको छ ।
बीस वर्ष अगाडि खाना पकाउनका लागि सबैभन्दा बढी खर्चिलोरुपमा मानिएको विद्युत् अहिले सबैभन्दा सस्तो भएको हो । बागलुङ बजार क्षेत्रमा विद्युतीय चुलोको माग बढिरहेको भए पनि विद्युत्को नियमित आपूर्तिमा समस्या हुनसक्ने भन्दै विकल्पमा भने ग्यास प्रयोग गरिरहेको पाइन्छ ।
ग्यास उपभोक्ताले विस्तारै आफूहरुले भान्छामा विद्युतीय उपकरणको प्रयोग वृद्धि गर्दै लगेका छन् । भान्छामा विद्युतीय चुलोसँगै मिक्चर, फ्रिजलगायत उपकरणको प्रयोगले विद्युत्को खपतसमेत वृद्धि भइरहेको छ । विद्युतीय चुलो ग्यासको प्रयोगमा करिब ४० प्रतिशत सस्तो हुने गरेको छ ।
विद्युतीय चुलो विशेषगरी बागलुङ बजारका पक्की घरमा बढी प्रयोग भइरहेको नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासिनीले जानकारी दिउ । उनले क्रमशः घरमा विद्युतीय क्षमता बढाउने उपभोक्ताको सङ्ख्या वृद्धि भइरहेको बताए ।
अहिले ग्यास प्रतिसिलिन्डर एक हजार आठ सय पुगेको छ, भने एक परिवारका लागि खाना पकाउन विद्युत्बाट मासिक सात सय ५० र ग्यासबाट एक हजार दुई सय बढी खर्च लाग्ने भएकाले विद्युतीय चुलो सस्तो र छिटो हुने अध्ययनले देखाइसकेको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







