मुन्धुमी पर्यटकीय गन्तव्यको अध्ययन सुरु


     एभरेस्ट आवाज    
     भाद्र २८ गते २०७९ मा प्रकाशित





म्याङ्लुङ । तेह्रथुमको लालीगुराँस नगरपालिकाले पूर्वी पहाडी जिल्ला तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङ जिल्लालाई मुन्धुमी पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने भएको छ । नगरपालिकाले यहाँका आदिवासी जनजाति लिम्बू जातिको आस्था जोडिएकाले पनि मुन्धुमी पदमार्गको अवधारण ल्याएको हो ।

त्यसका लागि नगरपालिकाले अध्ययन पनि सुरु गरेको छ । सो क्षेत्रको पदमार्गको अध्ययनका लागि वनस्पति विज्ञ कमल मादेन, वातावरण विज्ञानमा चीनबाट विद्यावारिधि गर्दै आएका दीपक खड्का, मुन्धुमविद् तथा नगरपालिकाका प्रमुख अर्जुन माबोहाङ, पर्यटन पत्रकार सङ्घ प्रदेश नं १ का विराट अनुपमलगायत टोलीमा २१ जना संलग्न छन् ।

सो टोलीले चोलुङ पार्कदेखि तिनजुरे, चौकी, मङ्गलबारे, गुफापोखरी, डोबाटे, गिद्धे, खम्बुले, सभापोखरी, तीन पोखरी, कालो पोखरी, साजु पोखरी, सोधुङ पोखरी, भूतपोखरी, ताक्पेगोलालगायत स्थानको १५ दिन लगाएर अध्ययन अन्वेषण गरेको हो ।

आदिमकालदेखि बसोबास गर्दै आएका लिम्बू समुदायको जन्मदेखि मृत्यृसम्मको संस्कार मुन्धुम शास्त्र सँँग जोडिएको र मुन्धुमीस्थललाई पदमार्गका रुपमा अघि सार्ने उद्देश्यले अध्ययन थालिएको नगरप्रमुख माबोहाङले बताए ।

मुन्धुमसँग जोडिएका स्थान छन् । पदमार्ग क्षेत्रमा पाइने नीलो भेडाहिउँ चितुवा, हिमालका कालो भालुजस्ता वन्यजन्तुको संरक्षणमा समेत टेवा पुग्नेछ । पदमार्ग क्षेत्रमा लिम्बू समुदायको मुन्धुमसँगसम्बन्धी संस्कृति अध्ययनका साथै अनुसन्धान गर्ने थलो बन्ने विज्ञको भनाइ थियो ।

त्यस्तै साहसिक पर्यटनका रुपमा हिमाली यात्रालाई लिन सकिन्छ । त्यसैले मुन्धुम पदमार्गलाई सफल पर्यटकीय गन्तव्यको विकास गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारले ध्यान दिनुपर्ने स्थानीयवासीले बताए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।