पशु प्राविधिक बाख्रा पालनमा


     एभरेस्ट आवाज    
     भाद्र ३० गते २०७९ मा प्रकाशित





गलकोट । नेपालमा विशेष गरी कृषि तथा पशुपालन विषयको अध्ययन गर्नेले सो अनुसारको पेशा अपनाएको नगन्य मात्रमा भेटिन्छ । कृषि तथा पशुको ज्ञान विना नै फर्म सञ्चालन गर्दा किसानले विभिन्न रोग तथा प्रकोपका कारण करोडाँैको नोक्सानीसमेत झेल्नुपरेको छ ।

कृषि तथा पशु अध्ययन गरेकाले कृषि पेशा अपनाउनुभन्दा जागिर नै खानु पर्दछ भन्ने प्रचलनसमेत व्याप्त भए पनि बागलुङ नगरपालिका–११ रायडाँडाका चिरञ्जीवी केसीले पशु प्राविधिकको जागिर छोडेर बाख्रा फर्ममा लगानी विस्तार गर्दै आएका छन । सात वर्षसम्म पशु प्राविधिकका रुपमा जागिर खाएका उनको अहिले आफ्नै बाख्रा फार्म छ ।

केसीको रायडाँडा बोयर बाख्रा तथा बहुउदेश्यीय कृषि फार्ममा अहिले १०० बाख्रा, बोका र पाठा छन् । उनले उत्पादन गरेको बोयर जातको बोका तथा बाख्रा मासुका लागिभन्दा बढी नश्ल सुधारका लागि महङ्गो मूल्य तिरेर अन्य कृषकले लैजाने गरेका छन् ।

आफँै पशु प्राविधिक भएर बाख्रा फार्म चलाउँदा पशुमा आउने समस्या समाधान आफँै गर्न सकिने भएकाले बाख्रापालनमा लगानी विस्तार गर्दै आएको केसीको भनाइ छ । अहिले कृतिम गर्भाधानका लागि अष्ट्रेलियाली र अफ्रिकाका दुई वटा बोयर जागतका बोका छन् ।

गत वर्ष १६० केजीको बोयरजातको अष्ट्रेलियन बोकालाई रु चार लाखमा विक्री गरेको केसीको भनाइ छ । अहिले केसीको फार्ममा ५२ वटा बाख्रा व्याउनका लागि तयारी अवस्थामा रहेको र कात्तिकसम्म १५० बाख्रा पुग्नेछन् । यही दशँैको मुखमा ३० वटा बोका बाख्रा विक्रीसमेत भइसक्ने उनी बताउछन ।

रु २२ लाख खर्चेर आधुनिक खोर निर्माण गरेका केसीको बोयर बाख्रा फर्ममा मात्रै रु एक करोड बराबरको लगानी छ । उहाँ हालसम्म कमाएको रकम फर्ममै खर्च गरेको बताउछन । फार्मअनुसारको अनुदान नपाए पनि हालसम्म जम्मा रु एक लाख ५० हजार मात्रै अनुदान पाएको बताएका उनी आफ्नो फार्म मासु उत्पादनभन्दा पनि नश्ल सुधारका लागि बोका बाख्रा उत्पादनमा बढी जोड दिएको छुु भने ।

छत्तीस वर्षीय केसीले जिटिए अध्ययन पश्चात् छ वर्षसम्म जाखिरसमेत खाएका थिए । पछि आफ्नो ज्ञानअनुसारको व्यवसाय आवश्यक रहेको भन्दै जागिर छोडेर बाख्रा पालन गर्दै आएका हुन । आफ्नो र भाडाको गरी ४७ रोपनी जग्गामा उन्नत जातको घाँस लगाएका उनले एक भैंसी र एक गाईसमेत पालेका छन ।

व्यावसायिक मौरीपालनसमेत गएका केसीले मौरीमा फैलिएको प्रकोपका कारण फार्म नै रित्तिएकामा पुनः अहिले छ घारबाट मौरीपालन थालेका छन । उनको आफ्नो १५ रोपनी र भाडाको ३२ रोपनी जग्गामा उन्नतजातका घाँस, किम्बु र राइखन्युलगायत घाँस लगाइएको छ ।

बाख्रा फार्मबाट निस्केको मल अहिले सामान्य मूल्यमा बिक्री गरेको बताएका फार्म सञ्चालक केसीले जैविक मल उत्पादन गर्ने लक्ष्य लिएका छन । उनी बाख्रा, भैंसी र पातपतिङ्गर मिलाएर जैविक मल उत्पादनको लागि प्रविधि भित्र्याउन थालिएको जानकारी दिईन्छन ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।