म्याग्दीको पर्यटकीय स्थल टोड्केमा सिद्धबाबापार्क निर्माण गरिएको छ।
रघुगंगा र मंगला गाउँपालिका तथा बेनी नगरपालिकाको सीमा क्षेत्र समेटिएको पर्यटकीय टोड्केको भ्रमणमा जाने पर्यटकलाई लक्षित गर्दै रघुगंगा गाउँपालिकाले पार्क निर्माण गरेको हो।
पर्यटन विभागको पर्यटन उपज साझेदारी कार्यक्रम अन्तर्गत गाउँपालिका र विभागको साझेदारीमा रघुगंगा गाउँपालिका वडा नं ५ झिँको सिद्ध सामुदायिक वनमा उक्त पार्क निर्माण गरिएको हो। विभागको रू. ७० लाख र गाउँपालिकाको रू. ३१ लाख गरी रू. १ करोड १ लाख पार्क निर्माणको लागत अनुमान गरिएको थियो। खुसीहोम बिल्डर्सले रू. ६६ लाख ३२ हजारमा ठेक्का सम्झौता गरी पार्क निर्माण गरेको हो। पार्क निर्माणको ७५ प्रतिशत भौतिक प्रगति भएको रघुगंगा गाउँपालिकाका इन्जिनीयर सुदीप गौतमले जानकारी दिएका छन्।
उनका अनुसार, पार्कमा ४ ओटा विश्रामस्थल, एउटा फाउन्टेन र एउटा भवन (घर) निर्माण गरिएको छ। जंगलको बीचमा खाली रहेका ठाउँहरूलाई उपयोग गरी पदमार्ग समेत निर्माण गरिएको छ। पार्कभित्रको पदमार्गमा ढुंगाको सिँढीसंगै ढुंगा छपाउने तयारी गरिएको छ। पार्कभित्र मात्रै १८२ मिटर पदमार्ग निर्माण हुने बताइएको छ। झिँ गाउँदेखि पार्कसम्म जाने पदमार्ग समेत निर्माण गरिएको छ। महेन्द्र मावि झिँदेखि २४० मिटर रेलिङसहितको पदमार्ग निर्माण सम्पन्न भइसकेको छ।
पार्कभित्र ढुंगाका छपनी बिच्छ्याउने, पार्क परिसरमा फुल प्रजातिका बिरुवा रोपण र पार्कसम्म जाने पदमार्ग अन्तर्गत भीरकुनामा प्रतीक्षालय बनाउने काम बाँकी रहेको वडाध्यक्ष मनबहादुर शेरमञ्जाले बताएका छन्।
‘झिँदेखि पार्क हुँदै टोड्के मोटरबाटो र पदमार्ग दुवैले जोडिएको छ,’ उनले भने, ‘पार्कका पूर्वाधार बनेसँगै पर्यटक थप आकर्षित भएका छन्।’
जंगलभित्रको पार्क शान्त वातावरणमा मनोरञ्जन लिनेहरूका लागि आकर्षणको केन्द्र बन्न थालेको उनको भनाइ थियो । झिँलाई रघुगंगाले सांस्कृतिक गाउँ घोषणा गरेको छ। गाउँमा पर्यटक लोभ्याउन सांस्कृतिक पार्क समेत निर्माण शुरू गरिएको छ। उक्त क्षेत्रको भ्रमणमा जाने पर्यटकहरूको सुविधाका लागि झिँमा होमस्टे (घरवास) र टोड्केमा निजी क्षेत्रबाट रिसोर्ट सञ्चालन गरिएको छ।
समुद्री सतहदेखि २ हजार ३८० मिटरको उचाइमा अवस्थित टोड्केबाट धवलागिरि र अन्नपूर्ण हिमशृंखलाका आधा दर्जन हिमालहरू अवलोकन गर्न सकिन्छ। सूर्योदय, गुराँसे जंगल, पहाडी भूगोल र ग्रामीण मगर संस्कृतिको अवलोकनका हिसाबले महत्वपूर्ण पर्यटकीय स्थलको रूपमा परिचित छ। रघुगंगा गाउँपालिकाको अगुवाइमा टोड्केमा फुटबल समेतको बहुउद्देश्यीय हाईअल्टिच्युट खेल मैदानको निर्माण थालिएको छ। टोड्केमा वनभोज पार्क, टोड्के तपोभूमि शिवालय घेराबार, पार्क कम्पाउण्ड, शौचालय, खानेपानी निर्माण लगायत पूर्वाधारहरू निर्माण समेत गरिएको छ।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







