नेवाः देय् दबू कास्कीको नयाँ कार्यसमिति गठन


     एभरेस्ट आवाज    
     असाेज १ गते २०७९ मा प्रकाशित




पोखरा । नेवाः देय् दबू, जिल्ला समिति कास्कीको अधिबेशन सम्पन्न भएको छ । अधिवेशन पश्चात भएको निर्वाचनबाट कृष्णमान ठूसाजूको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको छ ।

१८ सदस्यीय समितिमा वरिष्ठ उपाध्यक्षमा लिलबहादुर श्रेष्ठ, उपाध्यक्षमा दिनेश महर्जन, महिला उपाध्यक्षमा तिर्थ श्रेष्ठ गोशली, सचिवमा सुनिल उलक, महिला सचिवमा रीता नापित तथा कोषाध्यक्षमा बालगोपाल श्रेष्ठ नियुक्त भएका छन् । साथै विभिन्न क्षेत्र समेटेर ११ सदस्यहरुको पनि नियुक्ति गरेको छ । सम्पूर्ण पदाधिकारीहरुहरुलाई आजै शपथग्रहण तथा प्रमाणपत्र वितरण गरिएको छ।

कार्यक्रमको उद्धघाटन गर्दै गण्डकी प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले नामको पछाडि थरका रुपमा नेवारी थर रहदैमा नेवास् हुन्छ भन्न नसकिने भन्दै आफ्नो भाषा तथा संस्कृतिको ज्ञानसंगै पूर्णरुपमा नेवास् हुन हुने बताए ।

आफ्नो नामको पछाडि पनि श्रेष्ठ रहेतापनि आफूलाई भाषाको ज्ञान नहुँदा नेवास् हुँ भनेर परिचय दिन अप्ठ्यारो लाग्ने गरेको उनको भनाई छ । बुबाआमाले आफूसंग नेवारी भाषामा कुरा नगर्दा आफू नेवारी भाषा सिक्न नपाएको गुनासो गर्दै हजुरआमा र वुवाहरुले नेवारीमा बोल्दा आफुले नबुझ्दा गाली खानु परेको पिडा सुनाए ।

साथै नेवाः देय् दबूका गण्डकी प्रदेश अध्यक्ष हरिकुमार श्रेष्ठले नेवाः देय् दबूका सदस्यका रुपमा सहभागी हुँदा आफ्नो आस्थाको राजनैतिक पार्टीको झण्डा ढोका बाहिर राखेर मात्र सहभागी हुन आग्रह गरे । ढोका बाहिर निस्केपछि तपाइ जुनसुकै पार्टीका सदस्य हुन सक्नुहुन्छ । तर नेवाः देय् दबू भित्र भने केवल नेवास् भएर प्रवेश गर्न गर्नुपर्छ ।

कार्यक्रममा आदिवासी जनजाती महासंघ गण्डकी प्रदेशका सचिव सुजन कुमार लामाले नेवाः देय् दबू आदिवासी जनजाती महासंघको एक महत्वपूर्ण सदस्य भएका कारणले यस नेवाः देय् दबूका लागि महासंघले आबश्यक पर्ने बताए ।

उनले सबै किसिमको सहकार्य गर्न तत्पर रहेको समेत बताए । पोखरामा रहेको अन्य नेवा संस्था महासंघको सदस्य नभएको हुँदा नेवाः देय् दबू कास्कीसंग सहकार्य गर्न आफू उत्सुक रहेको समेत बताए ।

कार्यक्रममा आदिवासी जनजाती महासंघ गण्डकी प्रदेशका सचिव सुजन कुमार लामा, नेवास् देय् दबू केन्द्रीय परिषद् सदस्य देवेन्द्र कुमार श्रेष्ठ, नेवाः देय् दबू, गण्डकी प्रदेश अध्यक्ष हरिकुमार श्रेष्ठका साथै अन्य पदाधिकारीको पनि उपस्थिति रहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।