दोधारा चाँदनी । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मसेट्टीका पुकार थापा मगर विद्यालय नगएको एक साता भयो । ब्रह्मदेवस्थित सिद्धनाथ माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत उनलाई विद्यालय पुग्न छ घण्टा पैदल हिँड्नुपर्छ । वर्षात्का समयमा यो बाटोमा जाखिमपूर्ण यात्रा गर्नुपर्छ ।
करिब छ घण्टा पैदलयात्रा गर्दा सिद्धनाथ माध्यमिक विद्यालय ब्रह्मदेव पुग्न थापालगायत यहाँका विद्यार्थीले निकै सास्ती खेप्नुपर्छ । गाउँमा माध्यमिक विद्यालय नहुँदा आठ किलोमिटरको जोखिमपूर्ण बाटो भएर विद्यालय जानुपर्दा यहाँका धेरै विद्यार्थीले पढाइ छोडेर रोजगारीका लागि भारततर्फ जाने गरेका छन् ।
भौगोलिक रुपले विकट मानिएको यहाँको बस्ती सार्वजनिक सवारीसाधनको पहुँच नहुँदा यहाँका विद्यार्थी आठ किलोमिटर टाढा पैदल विद्यालय जान बाध्य छन् । कक्षा ११ मा अध्ययनरत विनोद बोहरा पनि विद्यालय नगएको एक साता भइसकेको छ । बोहराले विद्यालय जान आउने समस्याका कारण यहाँका थुप्रै विद्यार्थी पढाई छोडेर रोजगारीका लागि भारतर्फ लाग्ने गरेको बताए ।
सिद्धनाथ माध्यमिक विद्यालय ब्रह्मदेवका प्रधानाध्यापक उद्धवबहादुर चन्दले खल्ला मसेट्टीको बाटो जोखिमपूर्ण भएकाले वर्षात्का बेला त्यहाँका विद्यार्थी विद्यालय नआउने गरेको बताए । भीम स्मृति माध्यमिक विद्यालयका प्रधानाध्यापक केशवनाथ योगीले यहाँका विद्यार्थीले निकै समस्या झेल्नुपरेको बताए ।
उनले गाउँमा माध्यमिक तहको विद्यालय नहुँदा विद्यार्थीले सास्ती खेप्नुपरेको बताए । यहाँ रहेको सरस्वती मावि टुँडिखेलमा कक्षा ४ सम्म पढाई हुने गरेको छ भने वैजनाथ मावि टुँडिखेलमा ६ कक्षासम्म पढाई हुन्छ । भीम स्मृति मावि खल्लामा कक्षा ८ सम्म पढाई हुने गरेको छ ।
गाउँमा आर्थिकरुपले विपन्न नागरिकको बसोबास भएकाले पनि थुप्रै विद्यार्थीले पढाई छोडेर भारत जानुपरेको यहाँका स्थानीय बताउँछन् । स्थानीय लोकबहादुर थापाले यहाँ सडक सञ्जाल विस्तार बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतको समस्या रहेको बताए । यहाँका विद्यार्थी सडक र यातायात सुविधा नहुँदा अध्ययन गर्नबाट वञ्चित हुनुपर्ने अवस्था आएको उनले बताए ।
खल्ला मसेट्टी र टुँडीखेलमा गरी दुई सय ७० परिवारको बसोबास छ । आर्थिक अवस्था कमजोर भएका नागरिकको बसोबास रहेको यो बस्तीका स्थानीय महाकाली नदीको बगरमा बालुवा÷गिट्टी छान्नुका साथै अधिकांश पुरुष भारतमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका छन् ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







