आज संविधान दिवस


     एभरेस्ट आवाज    
     असाेज ३ गते २०७९ मा प्रकाशित




आज असोज ३ गते अर्थात् आठौं संविधान दिवस।

आजकै दिन २०७२ मा नयाँ संविधान घोषणा नयाँ गरिएको थियो। असोज ३ गते नयाँ संविधान जारी भएको सम्झनामा यो दिवस मनाइन्छ।

यस अवसरमा हिँजो (असोज २ गते, आइतबार) देखि भोली (असोज ४ गते, मंगलबार) सम्म ३ दिनसम्म संविधान दिवस मनाइँदै आएको छ।

जुन संविधानले २०६३ पुस १ गते तत्कालीन नेकपा माओवादी लगायत ८ वटा पार्टीले हस्ताक्षर गरेको संविधान मस्यौदा अनुरूप २०६३ माघ १ गते जारी भएको अन्तरिम संविधानलाई प्रतिस्थापन गरेको थियो।

देशले इतिहासमैं प्रथम पटक जनप्रतिनिधि (संविधान सभासद) सम्मिलित संविधानसभाबाट २०७२ अशोज ३ गते नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले ‘नेपालको संविधान २०७२’लाई हस्ताक्षर गरी अनुमोदन गरेसँगै जनताले चुनेका जनप्रतिनिधिमार्फत संविधान बनाउने ६५ वर्ष पुरानो जनताको आकांक्षा साकार भएको थियो।

जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सहित समाजवाद स्थापना गर्ने लक्ष्य लिएको यो संविधान हाल कार्यान्वयमा रहेको छ।

लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, स्वतन्त्रता र मानव अधिकार तथा समावेसी र समानतामा आधारित नेपाली समाजको विकासलाई संविधानको मूलभूत मान्यताका रुपमा प्रत्याभूत गरिएकाले नेपालको विद्यमान संविधान विगतको भन्दा विशिष्ट र फरक रहेको छ।

नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरी समृद्ध बनाउँदै लगेको छ भने स्थानीय तहमा नै नागरिकलाई सहज र सरलरूपमा सेवा उपलब्ध गराएको छ । सात प्रदेश, ७५३ स्थानीय तह र सङ्घीय सरकारमार्फत नयाँ राजनीतिक प्रणालीसमेत अवलम्बन गरेको छ।

संविधानको प्रस्तावना भनिएको छ, ‘सङ्घीय गणतान्त्रिक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधान सभाबाट अनुमोदन गरी जारी गरिएको यो संविधानले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राख्दै जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्व–शासनको अधिकारलाई आत्मसात् गर्दै राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताको स्वविवेकले पटक–पटक हुँदै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण एवं ज्ञात अज्ञात शहिदहरू तथा बेपत्ता र पीडित नागरिकहरूलाई सम्मान गर्दछ,’ संविधानको प्रस्तावनामा भनिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।