बलेवा । धौलागिरि क्षेत्रको पर्यटन विकासका लागि धौलागिरि, नीलगिरी, ढोरपाटन र कालीगण्डकीलाई जोडेर एउटै चक्रपथको निर्माण गर्ने गरी ‘धौनीढोका’ गुरुयोजना तयार गरिने भएको छ । धौलागिरि क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ ‘धौनीढोका’ गुरुयोजनाका लागि स्थानीय सरकार र पर्यटन व्यवसायीबीच छलफल सुरु भएको हो ।
धौलागिरि वातावरणमैत्री पर्यटकीय चक्रपथ विकासको आवश्यकताबारे चर्चा हुन थालेको अभियन्ता कृष्ण केसीले बताए । बागलुङ उद्योग वाणिज्य सङ्घ, बागलुङ पर्यटन विकास समिति, बागलुङ समाज पोखरा र गैसस महासङ्घ नेपाल बागलुङले संयुक्तरुपमा गुरुयोजना तयारीका लागि छलफल थालेका छन् ।
‘धौनीढोका’ का अभियन्ता कृष्ण केसीले साविकको धौलागिरि अञ्चलको समग्र विकासका लागि ‘धौनीढोका’ महत्वपूर्ण वातावरणमैत्री पर्यटकीय चक्रपथ बन्ने बताए । उनकै पहलमा स्थानीय सरकार र व्यवसायीले यसको गुरुयोजना बनाउन तयार भएका हुन् । हाल निर्माण हुँदै गरेको मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरलाई जोडेर धौलागिरि वातावरणमैत्री पर्यटकीय चक्रपथ निर्माणमा सरोकारवालाको जोड छ ।
गण्डकी प्रदेशका पर्यटनमन्त्री मणिभद्र शर्मा धौलागिरि क्षेत्रको पर्यटन विकासका लागि राष्ट्रियरुपमै कार्यक्रमको खाँचो रहेको बताए । उनले ढोरपाटन क्षेत्रमा निर्माणाधीन विद्युत्गृह योजना नेपालकै सबैभन्दा सस्तो योजना रहेको र विद्युतगृहसँगै त्यस स्थानमा कृत्रिम ताल बनेमा पर्यटन विकास हुने बताए ।
मुस्ताङको थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले विकासका नाममा जथाभावी मेसिनरी साधन चलाउँदा मुस्ताङमा पर्यटक घटेको बताए । धौलागिरि पर्यटन चक्रपथका लागि गर्नुपर्ने सम्पूर्ण कार्य गर्न गाउँपालिका तयार रहेको उनको भनाइ छ । बागलुङको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले पोखराका पर्यटन व्यवसायीले धौलागिरि हिमाललाई नदेखाउँदा पर्यटकको आकर्षण बढ्न नसकेको बताए ।
सबै गाउँपालिकाले आआफ्नो गाउँपालिकाको विकासका लागि योजना बनाउँदै आए पनि समग्र धौलागिरि क्षेत्रको विकासका लागि बहस नहुनु दुःखद् भएको उनको भनाइ छ । उनले पर्यटन चक्रपथ समग्र धौलागिरिको पर्यटनका साथै स्थानीयको आयआर्जनसँग जोडिएको विषय भएकाले यसलाई अघि बढाउन आफू प्रतिबद्ध भएको बताए ।
पर्यटन व्यवसायी गणेश भट्टराईले ढोरपाटन क्षेत्रमा आउने पर्यटकको बसाइ लम्ब्याउनका लागि स्थानीय व्यवसायीले नै अग्रसर हुनुपर्नेमा जोड दिए । ढोरपाटनमा सिकार गर्ने स्वीकृति पत्र पोखराबाटै उपलब्ध गराउनुपर्ने माग व्यवसायीले गर्न थालेका छन् ।
बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले ‘धौनीढोका’ गुरुयोजनाअनुसार स्थानीय, प्रदेश र सङ्घीय सरकारका काम बन्दा छोटो समयमा नै धौलागिरि क्षेत्र चर्चाको शिखरमा पुग्ने बताए । उनले तत्काल गुरुयोजना निर्माण र त्यसको कार्यान्वयनको कामलाई अघि बढाउनुपर्नेमा जोड दिए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







