बाबुआमा हराएपछि छोराछोरीको बिच्चली


     एभरेस्ट आवाज    
     असाेज ३ गते २०७९ मा प्रकाशित





कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–९ रमवादहवाका ४५ वर्षीय ढिकरु र उनकी श्रीमती ४० वर्षीया शिवरतनी थारु हराएपछि उनीहरुका छोराछोरी बिच्चलीमा परेका छन् । विसं २०७८ माघ ९ गते घरबाट निस्केर दाङ जान्छु भनेर ती दम्पत्ति हिँडेका थिए । दुवै बोल्न नसक्ने छन् । दम्पत्ति हराउँदा उनीहरुका सन्तानलाई खान र लगाउन समस्या भएको छ ।

बोल्न नसक्ने आमाबुवा हराउँदा तीन छोरी र एक छोरा बिचल्लीमा परेका छन् । छोरीहरु १७ वर्षीय रामकली, १३ वर्षीय सीता, आठ वर्षीय अस्मिता र वर्ष छका छोरा सुवास बिचल्लीमा मा परेका हुन् । माइली छोरी सीतालाई लिन दाङ हिँडेका दुवै अझैसम्म बेपत्ता भएका छन् ।

आफ्नो बुवाआमालाई खोजी गरी दिनका लागि वडा प्रहरी कार्यालय चन्द्रौटामा जानकारी दिएको ठूली छोरी रामकलीले बताए । वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिलजङ्ग शाहीले हराएको थाहा पाउनासाथ खोजी कार्य जारी राखेको बताए । सञ्चारमार्फत सबै ठाउँमा दुवैको हुलियासहित जानकारी गरेको प्रहरीले जनाएको छ ।

बुवाआमा आउछन् भन्ने आस गरेको पनि आठ महिना पुग्नै लागेको छोराछोरीको भनाइ छ । बुवाआमा नआएपछि उनीहरु शिवराज नगरपालिका–१ सोनपुरमा रहेको मावली हजुरबुवा हरिप्रसाद थारुको घरमा बस्दै आएका छन । अरुको खेतमा काम गर्ने हरिप्रसाद आफैँ बिरामी परिरहन्छन ।

हरिप्रसादले ज्याला मजदुरी गरी कमाएर ल्याएको रकमले नातीनातिनालाई पाल्दै आएको बताए । छोरी ज्वाईलाई धेरे खोज्ने प्रयास गरे पनि कहीँ कतै नभेटिएको उनले बताए । एक दिन आउछन् भन्ने विश्वास रहेको उनको भनाइ थियो । माइली छोरीले पनि आमाबुवा बोल्न नसक्ने भएपनि हाम्रो साहारा थिए भने ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।