मानव सेवाले दिएको खुसी


     एभरेस्ट आवाज    
     असाेज ४ गते २०७९ मा प्रकाशित





सुर्खेत । सञ्जिता गौतम मानवसेवा आश्रम कर्णाली प्रदेश संयोजकका रुपमा कार्यरत छन । गौतमको जन्म भने धुलिखेल नगरपालिका–११ काभ्रेडाँडा गाउँमा भएको हो । मध्यम परिवारमा जन्मिएकी सञ्जिता समाज परिवर्तन र रुपान्तरणका लागि सङ्घर्ष गरिरहेका छन । उनले सानैदेखि नै गरिब, दुःखीलाई सहयोग गर्नुपर्छ भनेर सोच राखे ।

समाजका सबै व्यक्ति समानरुपमा बाँच्न पाउनुपर्छ भनेर वकालतसमेत गर्ने गर्थे । गौतमको लक्ष्य नै दिनदुःखी र गरिबलाई सेवा गर्ने थियो । विद्यालयमा पढ्दादेखि नै साथीसँग मिलनसार गौतम सिर्जनशीलसमेत थिए । समाजमा सबै व्यक्तिको हैसियत बराबर हुनुपर्छ भन्ने सोच राख्ने गौतम समाजको विभेद् देख्दा भने चिन्तित थिए ।

गौतमको गाउँका धेरै मानिस गरिबीको रेखामुनि थिए । गाउँमा दलित बस्ती थियो । दलित समुदायका मानिसमाथि विभेद् पनि उत्तिकै थियो । कसैका घर थिएनन् भने कसैले मागेर खानुपर्ने अवस्था थियो । यस्तो अवस्था देख्दा सञ्जितालाई धेरै दुःख लाग्थ्यो । यो समाजको रोग हो, भनेर उनले समाज रुपान्तरण गर्ने अठोट लिए ।

पढ्न नपाएका बालबालिकाका अविभावकलाई शिक्षाको महत्वका बारेमा समेत जानकारी गराउथे सञ्जिताले । उनको सहयोगी स्वभाव देखेर गाउँका सबै मानिसले असल व्यक्तिकारुपमा चिन्ने गर्थे । समाजमा रहेको विभेद् अन्त्य हुनुपर्छ, मानिस मानिस एउटै हो भनेर वकालतसमेत उनले गर्थे । गौतम कक्षा १२ पढ्दै गर्दा समाजलाई धेरै बुझ्ने भइसकेका थिए ।

समाजको हरेक चित्र उनको मानसपटलमा घुम्न थाल्यो । यस अभियानबाट नै मानव सेवा गर्ने र विभेद्रहित मात्र होइन, सुखी समाज बनाउने उनको योजना छ ।सञ्जिताले सुरुमा हेटौँडामा रहेर मानवसेवा आश्रमबाट आफ्नो सेवा प्रारम्भ गरे । त्यसपछि गोर्खा मानवसेवा बालआश्रम हुँदै कास्की पोखरामा रहेको मानवसेवा आश्रममा लामो समय काम गरे ।

त्यसपछि त जति नै चुनौती सामना गरे पनि उनले यो सेवामा तल्लीन हुन थाले । अहिले उनी सुर्खेतमा रहेको मानवसेवा आश्रममा चार वर्षदेखि असहाय अवस्थामा सडकमा छाडिएका व्यक्तिको सेवामा लागि रहेका छन । अहिले सो आश्रममा ७० जनाले आश्रय लिइरहेका छन ।मानव सेवा गर्दा धेरै चुनौती आउँछन् ।

सहाराविहीन व्यक्तिलाई सहारा दिनु चानचुने विषय पनि होइन । कति व्यक्ति मानसिक सन्तुलन गुमाएका पनि हुने गर्छन्, उनीहरुको सेवा गर्नुपर्ने धेरै चुनौती छन् । विसं २०७५ देखि सेवा सुरु गरेको आश्रमले मानवसेवा आश्रम सुर्खेतले साउन र भदौ महिनामा मात्रै आठ जनाको उद्धार गरेको छ भने दुई जनाको पुनःमिलन गराएको जनाएको छ ।

हाल बुटवल आश्रममा ७३ जनाले आश्रय लिइरहेको मानवसेवा आश्रम कर्णाली प्रदेशले जानकारी दिएको छ । यसमा पुरुष ३८, महिला २७ र बालबालिका छ जना रहेका छन् ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।