विदेशबाट फर्किएर स्वदेशमै उद्यम


     एभरेस्ट आवाज    
     असाेज ४ गते २०७९ मा प्रकाशित





बेदकोट । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ३१ वर्षीय सागर क्षेत्री आठ वर्षअघि स्नातक अध्ययन गर्दै गर्दा स्वदेशमै रोजगारी खोजे । स्वदेशमा उनले कुनै काम पाउनु भएन । उनीसँग आफ्नै काम गर्न लगानी पनि थिएन । निराश बन्दै सागर कामको खोजीमा वैदेशिक रोजगारीमा युएई हानिए ।

विदेशमा तीन वर्ष काम गरेर फर्किएका सागरले अहिले भने स्वदेशमै बेत, बाँसबाट फर्निचर तथा अर्मिसोको कुचो जस्ता सामग्री विन्ध्यावासिनी नामक लद्यु उद्योग खोलेका छन। भीमदत्त नगरपालिका–१८ जानकी टोलमा वार्षिक एक लाख ५५ हजार भाडामा उनले तीन कट्ठा जमिन भाडामा लिएर उद्योग खोलेका छन ।

वैदेशिक रोजगारीको मोह छोडेर उनी अहिले स्वदेशमै आफ्नै उद्यममा जन्मेका छन । वैदेशिक रोजगारीका क्रममा कमाएको करिब रु २० लाख लगानीबाट सुरु गरेको उद्योग उनको कमाइको मुख्य स्रोत बनेको छ । सागरले आफूले स्वदेशमै मात्रै रोजगारी पाउनु भएको छैन, स्थानीय १० जनालाई पनि उद्योगमा रोजगारी दिएका छन ।

बेत, बाँसको फर्निचर तथा झाडु बनाउने उद्यममा सक्रिय सागर स्वदेशमै काम गरेर विदेशको जस्तै मनग्य आम्दानी हुँदा खुसी छन । बेत, बाँसका फर्निचर तथा झाडुको माग धेरै आउने गरेको उनी बताउछन । सुदूरपश्चिमका नौवटै जिल्लामा आफ्नो उद्योगको उत्पादन ढुवानी हुने गरेको उनको भनाइ छ । कामको खोजीमा विदेशिनेलाई स्वदेशमै उद्यमगर्न सागरको सुझाव छ ।

सरकारले तालिम, बजार व्यवस्थापन तथा स्वदेशमै उद्यम गर्ने युवालाई सहुलियत ब्याजमा ऋण उपलब्ध गराए लगानी नहुँदा आफ्नै उद्यम गर्न नसकेर विदेशिनुपर्ने अवस्थाको अन्त्य हुने उनी बताउछन ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।