एउटा सानो उपत्यका झै लाग्ने कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ ‘घाचोक’ प्राकृतिक सुन्दरताले भरिएको ठाउँ हो ।
यहाँको दृश्य मन लोभ्याउँदो छ । पहाडी दृश्य, त्यसमाथि गुरुङ/मगर बस्ती, त्यहाँ बनेका परम्परागतशैलीका घर, नजिकै ठूला–ठूला पहाड भएपछि कलाकारलाई अरु केही चाहिएन । सेतो पर्दाझैँ लाग्ने हिमशृंखला थपिँदाको दृश्यपान घाचोक पुग्नेका लागि ठूलो सपना भइदिन्छ ।
शनिबार भने त्यो अवसर राम्ररी जुरेन । मौसम परिवर्तनले नजिकबाट नियाल्न पाउने हिमशृंखलालाई क्यान्भासमा उतार्न नपाइए पनि बेलाबेलामा बादल छिचोल्दै टुप्लुक्क निस्कने हिम चुचुराले चार देशबाट जम्मा भएका ११८ चित्रकारलाई एकतृत गराउँदथ्यो अनि दृश्य कैद गर्न मोबाइल ठड्याउँथे तर एकै छिनमा बालदभित्रै हराइदिन्थ्यो ती चुचुरा । यस्तैयस्तै लुकामारी चल्दै रह्यो दिनभर ।
‘बादलको पर्दा उघ्रदिए कलाकार कति खुशी हुन्थ्ये होला’, स्थानीयवासीले दिनभर त्यो प्रार्थना गरिरहे पनि कला सिर्जनाका विषय यत्रतत्र थिए घाचोकमा । पाइलैपिच्छेका दृश्यले कलाकारका मन लोभ्याउँथ्यो । अग्रज कलाकार बुद्धि गुरुङ र चितवनका कलाकार डी बरालले त्यही दृश्य हेरेर क्यान्भासमा कुची चलाएको वर्षौ भइसक्यो । विदेशीले यस्ता दृश्य औधी मनपराउने हुँदा कास्कीका मात्रै होइन अन्य जिल्लाका कलाकारसमेत पोखरा र आसापासका दृश्य लिन आइरहन्छन् ।
कलाकार प्रकाश थापा (प्रथा) आइतबारको कला सिर्जना प्रतियोगिताको निर्णायक थिए तर त्यहाँको दृश्य देख्दा उनी पनि क्यान्भास नकोरी बस्न सकेनन् । कालाकार थापाले अन्य कलाकार सरह स्थानीय रहनसहन र बस्तीलाई पानीरङले सजाए । भक्तपुरका अर्का कलाकार अञ्जन अधिकारले पहिलो पटक यहाँ जलरङ खेलाए ।
एक्रेलिक र तेल रङले चित्र सिर्जना गर्ने अधिकारीले घाचोकलाई भने जलरङले आकार दिए । पोखराबाट केही घण्टाको सवारी यात्रामै पुगिने ठाउँ हो घाचोक । स्थानीय संस्कृति र मौलिक परम्परालाई जोगाउँदै अहिले त्यहाँ होमस्टेसमेत सञ्चालन गरिएको छ । आगन्तुकलाई घाटँुलगायत नाच देखाएर मनोरञ्जन प्रदान गर्न स्थानीयवासी हौसिहाल्छन् । आइतबार स्थानीय परिकारसहित मौलिक संस्कृति र परम्पराका स्वाद पस्किएर गाउँलेले कलाकारलाई भरपुर मनोरञ्जन दिलाए । आइतबार साँझसम्मै हिमशृंलालाई क्यान्भासमा उतार्ने स्वदेशी तथा विदेशी कलाकारको चाह भने पूरा हुनै पाएन । त्यसैले कलाकारले अली खल्लो महसूस गरिरहेका देखिए ।
कलाकार सुरेश स्याङतानलाई स्थानीय परम्परागत घरले लोभ्यायो । उनले त्यसैलाई आर्ट पेपरमा कैद गरे । अधिकांश कलाकारले स्थानीय रहनसहन र संस्कृति तथा प्राकृतिक दृश्य र बस्तीको चित्र सिर्जना गर्न भ्याएका थिए । चर्चितदेखि नवकलाकारसमेतको सहभागितामा भएको ‘पोखरा आर्ट क्याम्प’को दोस्रो महत्वपूर्ण कार्यक्रम घाचोकमा भएको हो ।
उनीहरुले बनाएका चित्र प्रदर्शन गरेपनि परम्परागत घर भने हराउँदै गएको पाइएको छ । भएका घर पनि कमेरो र रातोमाटाकोे नभई आयातित रङले सजिएका पाइए भने सिमेन्टेड घरको वर्चस्व हुन थालिसकेको देखिन्छ । त्यसअघि आइतबार बिहान कलाकारको समूहले पोखराको कुमुदिनी होम्सस्थित जेके आर्ट ग्यालरीको भ्रमण गरे ।
त्यहाँ पुराना कलाकारका सिर्जनादेखि नव कलाकारका सिर्जनासमेत देख्न पाइन्छ । यो एटा आर्ट संग्रहालयका रुपमा विकास गरिएको छ । शनिबार पहिलो कार्यक्रम पोखराको बगरमा स्वदेश र विदेशका १२ मास्टर आर्टिष्टबाट चित्र सिर्जनाको लाइभ डेमोस्ट्रेसन भएको थियो । यहाँको शान्ति स्तुपा फेवाताललगायत आसपासका सुन्दर दृष्यलाई जलरङले क्यान्भासमा सजाउने योजना कलाकारको छ ।
यही असोज १ गते चित्रकारको ठूलो जमात पोखरा प्रवेश गरेकामा भारत, बंगलादेश र इरानका २८ कलाकार सहभागी छन् । उनीहरुलाई ९० नेपाली कलाकारले साथ दिइरहेका छन् । अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालको आयोजना तथा गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्यमा भएको ‘पोखरा आर्ट क्याम्प’का स्थानीय संयोजक मनोज तामाङ यति धेरै संख्याका कलाकार सहभागी भएर पोखराका दृश्य चित्रमा समेट्दा यसले यहाँको पर्यटन विकासमा ठूलो टेवा पुग्ने बताउछन् । हुन त कला भनेको त्यस देशको पहिचान हो । कलाले आपसी सम्बन्ध विस्तारमा टेवा पुयाउँछ । कलाको भाषा सजिलोसँग बुझ्ने भएकाले पनि यसलाई दूतका रुपमा लिने गरिन्छ ।
कलाकारले तत्कालै मात्र चित्र सिर्जना गर्दैनन् । उनीहरुले क्यामेरामा कैद गरेका तस्वीर घरमै पुगेर पछिसम्म पनि सिर्जना गरिरहेका हुन्छन् । त्यसले कयौँ वर्ष पर्यटक प्रवद्र्धनमा सघाउ पुर्याइरहने आइडब्लुएस नेपालका अध्यक्ष तथा कार्यक्रम मूल आयोजक समितिका संयोजक एनवी गुरुङ बताउँछन् । उनका अनुसार दश वर्ष अघि नेपाल आएका कलाकारले अहिले पनि नेपाली दृष्य सिर्जना गरिरहेका छन् ।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







