नेता केसीको बेगनास–ढोरपाटन साइकलयात्रा सुरु


     एभरेस्ट आवाज    
     असाेज ७ गते २०७९ मा प्रकाशित




पर्यटन अभियन्ता एवं युवा राजनीतिकर्मी कृष्ण केसी पोखराको बेगनासतालदेखी बाग्लुङको ढोरपाटन शिकार आरक्षसम्मको साइकल यात्रामा निस्किएका छन् ।

विश्व पर्यटन दिवस(असोज ११) को अवसर पारेर पर्यटन प्रवद्र्धनको लक्ष्यसहित उनले बिहीबारदेखि पोखराको पर्यटकीय गन्तव्य बेगनासतालबाट गण्डकी प्रदेशकै रमणीय पर्यटकीयस्थल बागलुङको ढोरपाटनसम्मको साइकल यात्रा तय गरेका हुन् ।

बागलुङ समाज पोखराले बेगनास ताल किनारमा आयोजना गरेको बिदाई कार्यक्रममा अभियन्ता केसीलाई गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी, पूर्वगृहमन्त्री एवं नेकपा(एमाले)का संगठन विभाग प्रमुख खगराज अधिकारीलगायतले झण्डा सहित बिदाई गरेका हुन् ।

नेकपा(माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य एवं पूर्वविद्यार्थी नेता समेत रहेका अभियन्ता केसीले साइकलयात्रा मार्फत धौलागिरी, नीलगिरी, ढोरपाटन र कालीगण्डकी (धौनिढोका) क्षेत्रको प्रवद्र्धनका लागि अभियान सुरु गरेको उल्लेख गरे ।

धौलागिरी क्षेत्रलाई वातावरणमैत्री पर्यटकीय चक्रपथ बनाउने लक्ष्यसहित साइकलयात्रा सुरु गरेको र पर्यटन प्रवद्र्धनमा आफू निरन्तर लागिरहेको उनको भनाई थियो ।

केसीले पर्यटन प्रवद्र्धनका लागि विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरिसकेका छन् । केसी ‘लोलुफेरा’ लोमान्थाङ–लुम्बिनी र फेवाताल–रारातालसम्मको पदयात्रा अभियानको संयोजक समेत हुन् ।

कार्यक्रममा सभामुख अधिकारीले पर्यटन प्रवद्र्धनको लक्ष्यसहित सुरु गरिएको अभियानको सफलताको कामना गर्दै पर्यटन प्रवद्र्धनका लागि गण्डकी प्रदेशका सबै सम्पदाको विकास गर्नुपर्ने बताए ।

केसीलाई नेपालको राष्ट्रिय झन्डा र बागलुङ समाजको लोगो अंकित टिसर्ट आदि हस्तान्तरण गरी यात्रा सफलताको शुभकामना व्यक्त गरिएको समाजका निर्वतमान अध्यक्ष सुनिल पाण्डेले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।