नारायणी नदी संरक्षणका लागि जल संवाद


     एभरेस्ट आवाज    
     असाेज ७ गते २०७९ मा प्रकाशित





नवलपुर । नवलपुर र चितवन हुँदै बग्ने नारायणी नदी संरक्षण गर्नुपर्नेमा स्थानीय सरोकारवालाले जोड दिएका छन् । पछिल्लो समय नदी प्रदूषित हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै उनीहरुले नदीका कारण धेरै सम्भावना भएको बताएका छन् ।

बिहीबार नवलपरासी बर्दघाट–सुस्तापूर्व नवलपुरको गैँडाकोटमा आयोजित ‘सिमसार क्षेत्र पुनःस्थापना र नारायणी तटीय सामूहिक प्रयास तथा कार्ययोजना ’सम्बन्धी तेस्रो जल संवाद कार्यक्रममा सरोकारवालले नदी प्रदूषण रोक्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा गैँडाकोट नगरपालिका उपप्रमुख शान्ति कोइरालाले हामीसँग भएका नदी तथा खोलाले सम्भावनासँगै चुनौती थपेका बताए । नदीका कारण बाढी, पहिरो र भूक्षयको जोखिम भएको उल्लेख गर्दै उनले खोलानाला तथा जलाधार क्षेत्रको संरक्षण गरेमा मात्रै मानव जातिको अस्तित्व रहने बताए ।

कार्यक्रममा भरतपुर महानगरपालिका वतावरण शाखाका जानुका केसीले भरतपुरको फोहोर व्यवस्थापनको काम भइरहेको बताए । अहिले भरतपुरका विभिन्न स्थानबाट सङ्कलन भएको फोहोर नदी किनारमा लगेर फालिएको भए पनि यसको दीर्घकालीन समाधान महानगरले खोजेको उनको भनाइ थियो ।

कार्यक्रममा विश्व वन्यजन्तु कोष नेपालको पानी कार्यक्रम अधिकृत अरुण देवानले सहरीकरण बढ्दै गएको अवस्थामा नदी संरक्षणमा चुनौती थपिएको बताए । उनले संवाद कार्यक्रम गर्दा नदी तटीय क्षेत्रका प्रभावित र सरोकारवालाबीच कुराकानी हुनसक्ने भएकाले जलाधार क्षेत्रको संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।


सञ्जाल गठन


‘नारायणी नदी तथा जलाधार संरक्षण सञ्जाल’ गठन गरिएको छ । राप्ती नदी तटीय क्षेत्र सरसफाइ अभियानका अध्यक्ष अपिल घिमिरेको संयोजकत्वमा १७ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।

सञ्जालले कार्ययोजना तथा विधान निर्माण गरेर नदी तथा जलाधार क्षेत्र संरक्षणका लागि कार्यक्रम अघि सार्ने बताइएको छ । जलाधार क्षेत्र संरक्षणसम्बन्धी पैरवी गर्दै संरक्षणसम्बन्धी गतिविधि गर्दै अघि बढ्ने सञ्जालको मुख्य उद्देश्य रहेको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।