पर्यटकलाई आकर्षित गर्न हेलम्बुमा बञ्जीजम्प


     एभरेस्ट आवाज    
     असाेज ७ गते २०७९ मा प्रकाशित





चौतारा । पर्यटकलाई आकर्षित गर्ने उदेश्यले हेलम्बुमा ‘बन्जी जम्प’ को संरचना निर्माण सम्पन्न भएको छ । हेलम्बु गाउँपालिका–१ मा निर्माण भएको झोलुङ्गे पुलमा साहसिक खेल ‘बन्जीजम्प’ को संरचना निर्माण सम्पन्न भएको हो । एनएल जोशी कन्सल्टेन्सीद्वारा तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन डिपिआर अनुसार बञ्जीजम्प निर्माणका लागि रु पाँच करोड ३९ लाख खर्च भएको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष शेर्पाका अनुसार बञ्जीजम्पको उचाइ एक सय ७३ मिटर र झोलुङ्गे पुल तीन सय ७० मिटर लामो रहेको छ । सो स्थानमा बञ्जीजम्प निर्माण भएसँगै पर्यटक आगमन बढने र बञ्जी गर्नेले हेलम्बुको सेमीसिताङ हिमालका साथै नजिक रहेको मेलम्ची खानेपानी आयोजनाको अम्बाथानस्थित मुहानकोसमेत अवलोकन गर्न सक्ने अध्यक्ष शेर्पाले बताए ।

निर्माण सम्पन्न भएको झोलुङ्गे पुल सम्भवतः देशको हालसम्मकै लामो रहेको गाउँपालिकाका इञ्जिनियर शेरबहादुर राईले बताए । उनका अनुसार देशमा हाल दुई सय ५० मिटरभन्दा लामो झोलुङ्गे पुल निर्माण भएको छैन । हेलम्बु गाउँपालिका–१ हेलम्बुको ङिमादावा पाङगाङमा बनाइएको झोलुङ्गे पुल पाङगाङ र धवागाङ गाउँलाई जोड्दछ ।

नेपालमा एक सय ६० मिटर अग्लो बञ्जी सिन्धुपाल्चोककै भोटेकोसी नदीमा विसं २०५६ देखि सञ्चालन हुदै आएको छ । हेलम्बुमा निर्माण भएको बञ्जीको उचाइ भोटेकोसीको तुलनामा १३ मिटर बढी रहेको छ ।

सरकारको सय पर्यटकीय गन्तब्यमा परेको हेलम्बुमा पर्यटकलाई थप आकर्षण गर्न साहसिक खेलकुद बञ्जीजम्पको संरचना निर्माण गरिएको हेलम्बु गाउँपालिले जनाएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।