हेलम्बुमा स्याउसँगै चिया खेती


     एभरेस्ट आवाज    
     असाेज ११ गते २०७९ मा प्रकाशित





चैतारा । स्याउ उत्पादनमा पहिचान बोकेको हेलम्बुले अब चियामा समेत पहिचान बोक्ने भएको छ । हेलम्बुका स्थानीयले बाँझो जग्गामा चिया खेती गर्न थालेपछि गाउँपालिकाले किसानहरु लाई निःशुल्क बिरुवा वितरण गर्न थालेपछि हेलम्बुमा चिया खेतीसमेत विस्तार हुन थालेको छ । दुई वर्षअघिबाट किसानलाई निःशुल्क बिरुवा वितरण गरेर सुरु गरिएको खेती गाउँगाउँमा फैलिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।

गाउँपालिका अध्यक्ष शेर्पाका अनुसार तीन वर्षअघि हेलम्बुको तिम्बुमा चियाको नर्सरी स्थापना गरी ३३ हजार बिरुवा उत्पादन गरिएको थियो । सुरुमा उत्पादित बिरुवा गाउँपालिकाका सबैजसो वडाका किसानले करिब दुई हेक्टर जमिनमा चिया खेती गरेका थिए । खेर गएको बाँझो जमिनमा चिया खेती सुरु गरेका स्थानीयले थप तीन सय रोपनी जग्गामा खेती विस्तार गर्दै गाउँलाई चियाको पकेट क्षेत्र बनाउने लक्ष्यअनुसार खेती गरिरहेका छन् ।

गाउँका किसानले चिया खेती गर्ने योजना बनाएपछि गाउँपालिकाले कीर्तिपुरस्थित चिया तथा कफी विकास शाखासँग समन्वय गरी स्थलगत सम्भाव्यता अध्ययन गरेको थियो । सातासम्म गरेको अध्ययनबाट समुद्री सतहबाट एक हजार दुईसय मिटरदेखि दुई हजार तीनसय मिटर उचाइसम्म चिया खेती सम्भव हुने पाइएपछि चियाको नर्सरी तयार गरी बिरुवा उत्पादन गरिएको अध्यक्ष शेर्पाले जानकारी दिए ।

गाउँपालिकाको अन्नबालीको उत्पादन कम हुने क्षेत्रमा नगदेबालीको रुपमा फलफूल तथा अन्य खेतीलाई प्राथमिकता दिने योजनाअनुसार गाउँपालिकामा स्याउ तथा चिया खेती गर्न थालिएको हो । यस्तो खेतीबाट गाउँमै रोजगारीको वातावरण सिर्जना गर्दै थप पर्यटन प्रवद्र्धनका लागि गाउँवासीकै सक्रियतामा चिया खेती लगाएको गाउँपालिका कृषि शाखा प्रमुख टोपबहादुर बरुवालले बताए । हेलम्बु गाउँपालिकाको सहयोगमा अर्थोडक्स चिया लगाइएको हो ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।