बजार अनुगमन तीव्र बनाउँदै जुम्ला प्रशासन


     एभरेस्ट आवाज    
     असाेज ११ गते २०७९ मा प्रकाशित





जुम्ला । चाडवाड नजिकिँदै गर्दा बजार अनुगमनलाई स्थानीय प्रशासनले तीव्र बनाएको छ । चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय जुम्लाले सदरमुकाम खलङ्गा बजारमा रहेका पसलको अनुगमन गरेको छ । चाडपर्व नजिकिँदै गर्दा खाद्यान्नको मूल्य बढाउने र कृत्रिम अभाव देखाउने भएकाले अनुगमनलाई प्राथामिकतामा राखेको जिल्ला प्रशासन कार्यालय जुम्लाका सूचना अधिकारी प्रमिला रिजालले जानकारी दिए ।

यो पटक समयमै अनुगमन गर्दा म्याद सकिएका खाद्यन्न वस्तु कम मात्रामा भेटिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । यहाँका व्यापारीले अझै पसल अगाडि मूल्यसूची राख्न मानेका छैनन् । मूल्यसूची नराखेपछि एउटै वस्तुको मूल्य पनि पसलैपिच्छे फरक–फरक भएकोले उपभोक्ता मर्कामा परेको स्थानीयवासी उपराज रावतले बताए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाका प्रमुख ईश्वर सुवेदीले सदरमुकाम खलङ्गाका व्यापारीले मिति सकिएको अखाद्य वस्तु ग्रामीण भेगका पसलमा पठाउने गरेको भेटिएको बताए ।

अनुगमनका क्रममा बिस्कुट कोकोकला, स्प्राइट, रेडबुल जस्ता म्याद सकिएको सामान भेटिएको छ ।खाद्य अनुसन्धान अधिकृत डा सुवेदीका अनुसार पसलमा ढक तराजु क्यालिब्रेसन अपडेट नभएको, साइनबोर्ड नराखेको, खाद्य अनुज्ञापत्र नलिइ उत्पादन तथा बिक्रीवितरण गरेको भेटिएको पाइने गरेको छ ।

जिल्ला प्रशासन कार्यालय संयोजक रहने गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालयको टोलीले बजारको अनुगमनमा निस्किएको थियो । जिल्लाका स्थानीय तहका उपाध्यक्ष तथा उपप्रमुखको संयोजकत्वमा बजार अनुगमन समिति गठन भए पनि पालिकामा रहेका स्थानीय बजार अहिलेसम्म अनुगमन हुन सकेका छैन ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।