मनाङमा भित्रिन थाले पर्यटक


     एभरेस्ट आवाज    
     असाेज १४ गते २०७९ मा प्रकाशित




कोभिड–१९ का कारण करीब दुई वर्ष थलिएको मनाङका पर्यटन क्षेत्रमा अब भने चहलपहल बढ्न थालेको छ।

पर्यटकका लागि मनाङ आउने अहिले अनुकूल समय हो।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङको क्षेत्रमा २०७९ साउनदेखि २०७९ असोज पहिलो सातासम्ममा तीन हजार आठ सय १८ पर्यटक मनाङ भित्रिएको कार्यालय प्रमुख लेखनाथ गौतमले जानकारी दिए।

सो अवधिमा सार्क राष्ट्रका पुरुष एक हजार तीन सय ३० र महिला छ सय १४ भित्रिएका छन्। अन्य देशका एक हजार आठ सय ७४ पर्यटक मनाङ प्रवेश गरेको उनले बताए।

यस वर्षको असोज पहिलो सातासम्ममा इजरायलका सबैभन्दा बढी चार सय २८, जर्मनीका एक सय ४९, स्पेनका एक सय ३४, बेलायतका एक सय ३०, फ्रान्सका एक सय २२, अमेरिकाका एक सय आठ र अन्य देशका आठ सय ७३ पर्यटक मनाङ घुम्न आएका छन्।

गत आवमा सो अवधिमा कुल सात हजार २० बाह्य पर्यटक मनाङ आएका थिए। यसैबीच, मनाङ भित्रिएका पर्यटकलाई स्वागत गरिएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङ र आयोजनाको अन्नपूर्ण संरक्षण क्षेत्र चेकपोष्ट धारापानीले ४३औं विश्व पर्यटन दिवसका अवसरमा मंगलवार इलाका संरक्षण कार्यालयमा पर्यटकलाई स्वागत गरेको हो। पर्यटकलाई मनाङका आमा समूहले सांस्कृतिक तथा परम्परागत पहिरन लगाएर खादासहित स्वागत गरेका थिए ।

‘पर्यटनमा पुनर्विचार’ नाराका साथ मनाइएको सो दिवसमा धारापानीमा ४१ (पुरुष २४ र महिला १७) बाह्य पर्यटक, नेपाली पथप्रदर्शक तथा भरिया नौ र मनाङ चेकपोष्टमा कुल ४० (पुरुष २२ र महिला १८) बाह्य पर्यटक र नेपाली पथप्रदर्शक तथा भरिया आठ जनालाई स्वागत गरिएको मनाङ आमा समूहकी अध्यक्ष सीता गुरुङले जानकारी दिइन्।

मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घले, ङिस्याङ गाउँपालिका–८ का वडाध्यक्ष, संरक्षण क्षेत्र व्यवस्थापन समिति टङ्की–मनाङका अध्यक्ष सगर गुरुङ, पर्यटन व्यवस्थापन उपसमितिका अध्यक्ष कर्मा गुरुङ र मनाङ ङिस्याङ युवा क्लबले पर्यटकलाई स्वागत गरेको हो। नेपालको अन्नपूर्ण संरक्षण क्षेत्र एउटा प्रसिद्ध पर्यटकीय क्षेत्र एवं पदमार्ग हो। यहाँ घुम्नका लागि उपयुक्त धेरै ठाउँ छन्। यस क्षेत्रअन्तर्गत घान्द्रुक, अन्नपूर्ण बेस क्याम्प, मुक्तिनाथ, दामोदर कुण्ड क्षेत्र, लोमान्थाङ, मर्दी हिमाल, धम्पुस, मनाङ, तिलिचो ताल, नार, फुलगायत स्थान पर्दछन्।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।