दुर्घटना न्यूनीकरणका लागि जिल्लामा टाइम कार्ड लागु


     एभरेस्ट आवाज    
     असाेज १४ गते २०७९ मा प्रकाशित




फाइल फोटो

चितवन । चितवन जिल्लामा पर्ने राजमार्ग भएर चल्ने यात्रुबाहक सवारी साधनमा आजदेखि टाइम कार्ड लागू गरिएको छ । तीव्र गतिका कारण दुर्घटना बढेसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालयले टाइम कार्ड लागू गरेको हो ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीका अनुसार तीव्र गतिमा चल्ने यात्रुबाहक बस, मिनीबस, माइक्रो र टिपरबाट हुने दुर्घटना न्यूनीकरणका लागि टाइम कार्ड लागू गरिएको हो । टाइम कार्ड पाँच स्थानबाट कार्यान्वयनमा ल्याइने उनले जानकारी दिए ।

लोथर, गोन्द्राङ, आँपटारी, मुग्लिन र मैवाखोलाबाट टाइम कार्ड कार्यान्वयनमा ल्याउन लागिएको हो । जिल्लामा पर्ने नारायणगढ–मुग्लिन सडक खण्डसहित ९३ किलोमिटर राजमार्गमा प्रतिघण्टा ४० किलोमिटरका दरले टाइम कार्ड कार्यान्वयनमा ल्याइएको हो ।

लोथरदेखि गोन्द्राङसम्मको ३० किलोमिटरका लागि ५० मिनेट, गोन्द्राङबाट आँपटारी सात किलोमिटरका लागि १० मिनेट, आँपटारीदेखि मुग्लिन ३४ किलोमिटरका लागि एक घण्टा, गोन्द्राङबाट मुग्लिन ४१ किलोमिटरका लागि एक घण्टा पाँच मिनेट र मुग्लिनदेखि मौवाखोलासम्मको १६ किलोमिटरका लागि २५ मिनेटको समय राखिएको अधिकारीले जानकारी दिए ।

तोकिएको समयभन्दा छिटो आउने सवारी साधनलाई कारबाही गरिने उनले जानकारी दिए । सवारी साधन लापर्बाही गरी चलाएकामा कारबाही हुने उनले बताए।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।