म्याग्दी । पहिरोका कारण रोकिएको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँध र सुरुङ निर्माणको काम सञ्चालन भएको छ । रघुगङ्गा गाउँपालिका–४ बुग्ल भन्ने ठाउँमा पहिरो खसेपछि नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवद्र्धक रहेको राहुघाटको बाँध र १ नम्बर अडिटबाट सुरुङ निर्माणको काम गत असार महिनादेखि रोकिएको थियो ।
रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बुग्लको पहिरो पन्छाएर पहुँचमार्ग सञ्चालन गरि बाँध र १ नम्बर अडित निर्माण सञ्चालन गरिएको जानकारी दिए । बुग्लमा करिब दुई सय मिटर सडक बर्खायाममा पहिरो खसेर अवरुद्ध हुने गरेको छ । गत वर्ष पनि बुग्लको पहिरोले राहुघाट जलविद्युत् आयोजना निर्माणको काम करिब तीन महिना प्रभावित भएको थियो ।
राहुघाट जलविद्युत् आयोजना निर्माणस्थल म्याग्दीको रघुगङ्गा गाउँपालिकाको वडा नं ३, ४ र ५ मा हो । रघुगङ्गा–४ दग्नाम र वडा नं ५ झिँको सिमानामा बाँयातर्फबाट अर्धजलाशययुक्त बाँध बनाउन ढलानको काम थालिएको आयोजनाका प्रोजेक्ट म्यानेजर राजबहादुर विष्टले बताउनुभयो । समग्रमा आयोजनाको हालसम्म करिब ५० प्रतिशत भौतिक प्रगति भएको छ ।
कूल छ किलोमिटर दुई सय ७० मिटरमध्ये तीन किलोमिटरभन्दा बढी सुरुङ निर्माण सकिएको छ । बाँध निर्माणस्थलमा अडिट एक, अँधेरीखोलामा अडिट दुई, पिप्लेमा अडिट तीन र तिल्केनी चौरमा अडिट नं चार छन् । पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट निर्माण सकिएको छ ।
सिभिल ठेकेदार जयप्रकाश एशोसियटस जेपीले बाँध, सुरुङ र विद्युत्गृह निर्माणको काम एकैसाथ गरिरहेको छ । तिल्केनीचौरमा विद्युत्गृहको टर्वाइन रहने ठाउँभन्दा माथिसम्म ढलान भइसकेको छ । भारतीय आयात निर्यात एक्जिम बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एशोसियस जेपीसँग २०७४ मङ्सिरमा ठेक्का सम्झौता भएको थियो ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







