मनाङ : २८ मतदान केन्द्र, ६ हजार सात सय ७९ मतदाता


     एभरेस्ट आवाज    
     असाेज २३ गते २०७९ मा प्रकाशित




मनाङ। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि हिमाली जिल्ला मनाङमा २८ मतदान केन्द्र तोकिएका छन् । तीमध्ये चामे पाँच, नांसो र मनाङ ङिस्याङ गाउँपालिकामा नौ-नौवटा मतदान केन्द्र तोकिएका छन् । यस्तै जिल्लाको अति विकट नार्पाभूमि गाउँपालिकामा पाँच मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय मनाङले जनाएको छ ।

भौगोलिक विकटता, मतदाता र मतदान केन्द्रको दूरी र सुरक्षा पोस्टको पहुँच गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको चुनावको समीक्षासहितका विभिन्न सूचकलाई आधार मानेर मतदान केन्द्रको वर्गीकरण पनि गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताएका छन् । उनी भन्छन् “अतिसंवेदनशील र संवेदनशील सूचीमा परेका मतदान केन्द्रमा सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाइने छ ।

निर्वाचन सामग्री लैजाने र मतदानसँगै मतदानपश्चात् सुरक्षा व्यवस्था प्रबन्ध, जनशक्ति व्यवस्थापन आदिको प्रबन्ध संवेदनशीलताका आधारमा गरिने छ । “सबैजसो स्थानीय तहका केही मतदान केन्द्र संवेदनशील सूचीमा रहेका छन् । योसँगै संवेदनशीलताका आधारमा चारवटै सुरक्षा निकाय एकसाथ परिचालन गर्ने नीति बनाइएको छ । ” उनले भने । उनका अनुसार हरेक स्थानीय तहमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको उपस्थित हुनेछ ।

पहिलो घेराभित्र रहेको सुरक्षा निकायभित्र ३० मिनेटभित्रै ब्याक फोर्स पुग्ने व्यवस्था गरिने छ । जिल्लाका एक प्रतिनिधिसभा तथा दुई प्रदेशसभा निर्वाचन क्षेत्रका लागि आगामी मङ्सिर ४ गते हुन लागेको निर्वाचनमा तीन हजार दुई सय ८१ पुरुष र तीन हजार चार सय ९८ जना महिला गरी कूल ६ हजार सात सय ७९ मतदाताले आ–आफ्नो मताधिकारको प्रयोग गर्ने जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।