कास्की काँग्रेसको चुनाव लक्षित कार्यक्रम सार्वजनिक


     एभरेस्ट आवाज    
     असाेज २५ गते २०७९ मा प्रकाशित




आगामी मंसीर ४ गते हुने प्रतिनिधी सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनलाई केन्द्रीत गरेर नेपाली काँग्रेस कास्कीले आवश्यक तयारी शुरु गरेको छ।

कास्की काँग्रेसका सभापति किशोरदत्त वरालको सभापतित्वमा सोमबार वसेको वैठकले पार्टीको तर्फवाट २२ हजार १ सदस्यिय मूल प्रचार प्रसार समिति गठन गरेको छ।

समितिमा क्षेत्रीय सभापतिहरु र पोखरा महानगर सभापति सहसंयोजक र पार्टीका संपूर्ण क्रियाशील सदस्यहरु सदस्य रहने कास्की काँग्रेसका प्रवक्ता विश्वशंकर पालिखेले जानकारी दिएका छन्।

वैठकले निर्वाचनकै सम्वन्धमा सचिव भानुभक्त ढकालको संयोजकत्वमा रामजी कोइराला, मनवहादुर लाम्गादे, निर्मला कार्की भण्डारी सदस्य रहेको सचिवालय समिति गठन गरेको छ। यसैगरी, वैठकले जिल्ला कोषाध्यक्ष माइकल कर्माचार्यको संयोजकत्वमा अर्थ उपसमिति गठन गरेको छ। वैठकले घोषणापत्र तयारीका लागि प्रा.पद्यशरण रेग्मी, कपिलमणि दाहाल र दीपेन्द्र ढकाललाई जिम्मेवारी दिएको छ। त्यस्तै कानूनी परामर्शका लागि निवर्तमान जिल्ला सदस्य कृष्ण तिमिल्सीनालाई वैठकले संयोजक तोकेको छ।

वैठकले निर्वाचनका सन्दर्भमा सामाजिक सन्जाल र मिडियामा अनावश्यक भ्रम छर्ने गतिविधीमा संलग्न नहुन पार्टीका सवै क्रियाशील सदस्यहरु एवं शुभेच्छुकहरुलाई अनुरोध गरेको छ। वैठकले पार्टीको निर्णय विपरित उम्मेदवारी दर्ता गरेको पार्टीका जिम्मेवार नेता कार्यकर्ताहरुलाई तत्काल उम्मेदवारी फिर्ता लिन अपिल गरेको छ।

वैठकले नेपाली काँग्रेस कास्कीका जिल्ला सदस्य सुदिप गौतमको असामयिक निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै १३ औं दिनको पूण्यतिथिका दिन २०७९ भाद्र २६ गते विहान ७.३० बजे पार्टी कार्यालय, वीपी मार्ग चिप्लेढुंगामा श्रद्धाञ्जली सभा गर्ने निर्णय गरेको छ ।

यसैबीच सोमबार विहान कास्की काँग्रेसको पार्टी कार्यालयमा ५ दलीय गठवन्धनको वैठक बसेको छ। वैठकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राजमो र नेसपाका केन्द्रीय तथा जिल्ला नेताहरु र उम्मेदवारहरुको उपस्थिति थियो।

वैठकले कास्कीका ३ वटै निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसको संयोजकत्वमा र गठवन्धनका दलहरुको सह–संयोजकत्वमा क्षेत्रीय निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको कास्की काँग्रेसका सह–सचिव नविन सिग्देलले जानकारी दिएका छन्। साथै वैठकले कास्कीका सवै वडाहरुमा संयुक्त निर्वाचन प्रचार प्रसार समिति गठन गर्ने निर्णय गरेको छ। त्यस्तै, कास्की काँग्रेसको पार्टी कार्यालयलाई गठवन्धन दलको मूख्य निर्वाचन परिचालन सचिवालय बनाउने वैठकले निर्णय गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।