फेवाताल स्थित ड्यामसाइडदेखि चंखपुरसम्मको जलकुम्भी झार सफाइ


     अस्मिता घिमिरे    
     असाेज २५ गते २०७९ मा प्रकाशित




पोखराको फेवातालमा जलकुम्भी झार फैलिएपछि आज बिहानदेखि सरसफाइ अभियान सुरु गरिएको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यहाँका विभिन्न सङ्घ संस्थालाई फेवाताल सरसफाइमा जुट्न आग्रह गरेपछि ड्यामसाइडदेखि चंखपुरसम्म ठाउँबाट महानगरले जलकुम्भी र अन्य फोहोर निकाल्न सुरु गरेको हो।

३३ वटै वडाको सहभागितामा ताल सफाई अभियान सुरु गरिएको मेयर धनराज आचार्यले बताए। मेयर आचार्यले सफाइ अभियानमा सहभागी हुन नागरिक समाज, आमा समुह, टोल विकास संस्था, युवा क्लब लगायत सबै संस्था र ब्यक्तिहरुलाई आह्वान गरेका थिए । फेवाताल विश्व रामसार सूचीमा सूचीकृत छ ।

सरसफाइको पहिलो दिन विभिन्न सङ्घ संस्था, सरकारी कर्मचारी र सुरक्षाकर्मीद्वारा डुङ्गा तथा अन्य साधनको मद्दतबाट जलकुम्भी झार बाहिर निकाल्ने काम गरेका थिए । लगातारको वर्षासँगै तालको सबैजसो भागमा जलकुम्भी फैलिएको छ । तालमा झार धेरै भएकाले सबै झार निकाल्न एक हप्ता समय लाग्ने प्रमुख आचार्यको भनाइ छ ।

तालको बीचभागमा अवस्थित तालबाराही मन्दिर दर्शन गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकलाई जलकुम्भीले अवरोध गर्ने गरेको छ । सो अवसरमा महानगर प्रमुख आचार्यले फेवाताल नेपालीको मात्र नभइ विश्वकै पर्यटकीय सम्पदा भएकाले यसको संरक्षण गर्ने दायित्य सबैको भएको बताउनुभयो । फेवाताल सरसफाइमा पोखराका ३३ वटै वडाका सङ्घ संस्था, आमा समूह, क्लबलाई सहभागी हुन आग्रह गरिएको छ । आचार्यका अनुसार ३३ वटै वडाका वडाध्यक्षको नेतृत्वमा विभिन्न समूह ताल सरसफाइमा परिचालित हुने छन् ।

फेवातालको दायाँबायाँ नेपाल सरकारले ६५ मिटर मापदण्ड तोकेको भए पनि ती क्षेत्रमा संरचना निर्माण गर्ने कार्य अझै रोकिएको छैन । मापदण्डकै विषयलाई लिएर मुद्दा परेपछि सर्वोच्च अदालतले तत्कालका लागि महानगरपालिकालाई फेवातालको डिलबाट ६५ मिटर मापदण्ड कार्यान्वयन गर्न आदेश दिएको थियो ।

बाह्र हजार आठ सय ७४ रोपनी क्षेत्रफलको फेवातालमा नौ हजार नौ सय ५५ रोपनी भाग पानीले ढाकेको छ । तालको पश्चिमी भागबाट आउने हर्पन खोलाको बाढीले प्रत्येक वर्ष ताल पुर्ने कार्य रोक्नुपर्ने पोखरा उपत्यका नगरविकास समितिका पूर्व अध्यक्ष अशोक पालिखेले बताउनुभयो ।
आज बाट छुट्टै संयन्त्र बनाएर निरन्तर ताल सफाई सन्चालन गर्ने महानगरले जनाएको छ । फेवाको जलकुम्भी झार निकाल्न महानगरले छुट्टै मेसिन किनेको थियो । तर, मेसिनले प्रभावकारी काम गर्न सकेको छैन ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।