प्रधानमन्त्री देउवाविरुद्धको उजुरी खारेज


     एभरेस्ट आवाज    
     असाेज २६ गते २०७९ मा प्रकाशित




प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी कायम रहने भएको छ।

उनको उम्मेदवारीविरुद्ध परेको उजुरी कानुनसम्मत नदेखिएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले उजुरी खारेज गर्ने निर्णय गरेको हो।

निर्वाचन कार्यालयले उम्मेदवारविरुद्ध परेको उजुरी र त्यसको जवाफ तथा उम्मेदवारका संपूर्ण कागजात कानुनसम्मत देखिएको जनाउँदै उजुरी कानुनसम्मत नदेखिएको बताएको छ।

देउवाको उम्मेदवारी रद्द गर्नुपर्ने माग गर्दै उनका प्रतिस्पर्धी कर्ण मल्लले सोमबार उजुरी दिएका थिए। देउवाको नागरिकता र मतदाता नामावलीमा फरक–फरक जन्ममिति रहेको भन्दै मल्लले उम्मेदवारी खारेजीको मागसहित उजुरी दिएका थिए।

देउवाको उम्मेदवारी विरुद्ध उजुरी दिने मल्ल काँग्रेसका पूर्व डडेलधुरा सभापति हुन्। उनी विसं २०७४ को निर्वाचनमा काँग्रेसबाटै प्रदेशसभा सदस्यमा विजयी भएका थिए। वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा एमालेसँग तालमेल गर्दै काँग्रेस बीपीको चुनाव चिह्नबाट आफू निकटका व्यक्तिलाई उम्मेदवार बनाएको भन्दै काँग्रेसले मल्ललाई पार्टीबाट निष्कासित गरेको थियो।

उनी अहिले देउवाविरुद्ध एमालेको सहयोगमा चुनाव लड्दैछन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।