पोखरामा ५ देशका ३५० बढी फिजिसियन, अन्र्तराष्ट्रिय रुपमा अप्नाईएको पछिल्लो उपचार पद्धती, प्रविधि र टेक्नोलोजीबारे छलफल हुने


     एभरेस्ट आवाज    
     असाेज २७ गते २०७९ मा प्रकाशित




पोखरा, असोज २७

पोखरामा पाँच देशका जनरल फिजिसियनहरु भेला भएका छन् । सोसाईटी अफ ईन्टरनल मेडिसिन अफ नेपाल (साईमन)को पाँचौं राष्ट्रिय सम्मेलनमा सहभागि हुन ५ देशका ३५० भन्दा बढी जनरल फिजिसियनहरु पोखरामा भेला भएका हुन् । पोखराको एकमात्र पाँचतारे होटल ‘होटल पोखरा ग्राण्ड’मा हुने भेलामा नेपालसहित भारत, बंगलादेश, मालदिभ्स र वेलायतका जनरल फिजिसियनहरु सहभागि हुने सोसाईटी अफ ईन्टरनल मेडिसिन अफ नेपाल (साईमन) का अध्यक्ष तथा सहिद गंगाला ह्रदयरोग अस्पतालका प्रा.डा.अरुण मास्केले जानकारी दिए । नेपालका फिजिसियनहरु सम्मेलनमा सदस्यका रुपमा सहभागि हुनेछन् भने विदेशका फिजिसियनहरु अतिथिका रुपमा सहभागि हुनेछन् ।

भेलाको पूर्व सन्ध्यामा विहीबार वर्कसप सञ्चालन गरिएको छ । रोयल कलेज अफ फिजिसियन (आरसिपी) ईडेनबरा सँगको सहकार्यमा सञ्चालन गरिएको वर्कसपमा पाँचै देशका विषय विशेषज्ञहरुले सहजीकरण गर्ने अध्यक्ष मास्केले बताए । ‘वर्कसपले जनरल फिजिसियनहरुलाई थप अब्बल बनाउन सघाउँछ’–उनले भने ।

सम्मेलनको अवसरमा अन्र्तराष्ट्रिय रुपमा उपचारमा अप्नाईएको पछिल्लो पद्धती, त्यसका लागि प्रयोगमा ल्याईएको प्रविधि र उपकरणलगायतबारे छलफल हुने साईमनले जनाएको छ । सम्मेलनमा ५० जना विषय विशेषज्ञ चिकित्सकहरुले कार्यपत्र प्रस्तुत गर्ने मास्केले जानकारी दिए । उनका अनुसार मुटु, कलेजो, फोक्सो, मिर्गौला, नशा, पेटलगायतका रोगहरुका विषय विशेषज्ञहरुले हिजोको उपचार पद्धती, प्रविधि र उपकरणसँगै हाल अन्र्तराष्ट्रिय रुपमा अवलम्वन गरिएका उपचार पद्धती, प्रविधि र उपकरणबारे कार्यपत्र प्रस्तुत गर्नेछन् । जसमा नेपालको अभ्यास र अन्र्तराष्ट्रिय रुपमा अवलम्वन गरिएका उपचार पद्धती, प्रविधि र उपकरणको प्रयोगमा देखिएका चुनौतिबारे प्रष्ट्याईने बताइएको छ । ‘एभिडेन्स बेस्ड मेडिसिनबाट उपचार गर्न यसले महत्वपूर्ण योगदान दिनेछ’–उनले भने ।

साईमन १९९९ बाट शुरु भएको हो । यसअघि काठमाडौं र बिरगञ्जमा भएको सम्मेलन यस पटक पोखरामा हुन लागेको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।