पौडेललाई नियन्त्रणमा लिएको विरोधमा पोखरामा प्रदर्शन


     एभरेस्ट आवाज    
     मंसिर १८ गते २०७७ मा प्रकाशित




तस्बिर : उमेश पुन

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेललाई बुधबार तनहुँमा प्रहरीले धरपकड गरेको विरोधमा पोखरामा प्रदर्शन भएको छ । नेपाल तरुण दल कास्कीको नेतृत्वमा पोखरामा विहीबार प्रदर्शन भएको हो ।

पौडेलमाथिको आक्रमण लोकतन्त्र माथिको आक्रमण भएको भन्दै तरुण दलले पोखरामा जुलुशसहित कोणसभा ग¥यो । नेपाली कांग्रेस कास्कीको कार्यालय चिप्लेढुंगाबाट शुरु भएको जुलश बिपीचोक घुमेर महेन्द्रपुलमा पुगेर कोणसभामा परिवर्तन भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य शुक्रराज शर्माले कम्युनिष्टबिरुद्ध आन्दोलन घोषणा गर्न पार्टी नेतृत्वलाई आग्रह गरेका छन् । कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेललाई बुधबार गिरफ्तार गरेको विरोधमा तरुण दल कास्कीले विहीबार पोखराको महेन्द्रपुलमा आयोजना गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उनले कम्युनिष्टबिरुद्ध आन्दोलन घोषणा गर्न पार्टी नेतृत्वलाई आग्रह गरेका हुन् । राजतन्त्रबिरुद्धपनि पोखराबाटै आन्दोलनको विगुल फुकेको भन्दै उनले कम्युनिष्टबिरुद्धपनि आन्दोलन गर्न तयार रहेको बताए । बरिष्ठ नेता पौडेललाई गिरफ्तार गर्नु अन्तिम पराकाष्ठा भन्दै उनले भने,‘हामीले यहिंबाट राजतन्त्रबिरुद्ध आन्दोलनको विगुल फुकेका थियौं, अब कम्युनिष्टबिरुद्धपनि आन्दोलन गर्न तयार छौं । नेतृत्वले आन्दोलनको घोषणा गरोस् ।’ प्रतिपक्षले सदाचार भएर मौन बस्दापनि ओली नेतृत्वको कम्युनिष्ट सरकारले दुई तिहाईको दम्भ देखाएर कांग्रेसलाई जिस्काएको उनको भनाई थियो ।

संविधान सभा सदस्य वृन्दादेवी रानाले पौडेलमाथि नियोजित रुपमा आक्रमण भएको दाबी गरिन् । उनले पौडेलमाथिको आक्रमण समग्र लोकतन्त्र माथिको आक्रमण भएकाले कांग्रेसलाई असह्य हुने बताईन् । कोरोनाका कारण देश भयावहमा पुगिरहँदा कम्युनिष्ट नेतृत्वको सरकार समस्या समाधानमा भन्दा आन्तरिक द्वन्द्व र कांग्रेसमाथि प्रहार गर्नमा अल्झिएको उनको टिप्पणी थियो ।

कार्यक्रमको अध्यक्षता गरेका तरुण दल कास्कीका उपाध्यक्ष दीपक गुरुङले कम्युनिष्टबिरुद्धको लडाईं लड्न तरुण दल तयार रहेको बताए । उनले नेतृत्वले निर्देशन दिए तत्काल आन्दोलनमा होमिने बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।