नवौँ राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा मधेस प्रदेश र आर्मी भिड्दै


     एभरेस्ट आवाज    
     असाेज २८ गते २०७९ मा प्रकाशित





दमौली । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलमा मधेस प्रदेश र नेपाल आर्मीबीच उद्घाटन खेल हुने भएको छ । तनहुँको व्यास नगरपालिका–१ स्थित निर्मल माध्यमिक विद्यालयको प्राङ्गणको खेलमैदानमा आजदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा मधेस प्रदेश र नेपाल आर्मीबीच प्रतिस्पर्धा हुन लागेको हो ।

उद्घाटन खेल अपराह्न ४ बजे सञ्चालन हुने नेपाल बास्केटबल सङ्घका केन्द्रीय सचिव फणिन्द्रमान श्रेष्ठले जानकारी दिए । बिहान ११ बजे दमौलीबाट विभिन्न जातजातिको झाँकीसहित विद्यालय प्राङ्गणमा ¥याली निकालिएको छ । प्रतियोगितका लागि फुलकोर्ट पाँच खेलाडी र थ्री वाइ थ्री तीन खेलाडीका लागि छुट्टाछुट्टै समूह विभाजन गरिएको छ ।

पाँच खेलाडी खेल्नेतर्फ समूह ‘ए’मा नेपाल आर्मी, सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश रहेका छन् भने समूह ‘बी’मा बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ रहेका छन् । तीन खेलाडी खेल्नेतर्फ समूह ‘ए’मा मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र नेपाल आर्मी छन् भने समूह ‘बी’ मा प्रदेश नं १, सशस्त्र प्रहरी, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश छन् ।

शनिबारबाट दैनिक छवटा खेल सञ्चालन गर्ने तयारी छ । फुलकोटतर्फ दैनिक दुई र थ्री वाई थ्रीतर्फ दैनिक चार खेल सञ्चालन गरिने श्रेष्ठले बताए । आगामी कात्तिक ३ गतेसम्म सञ्चालन हुने खेलका लागि खेलाडी, अफिसियलसहित एक सय ५६ जना सहभागी हुँदैछन् ।


उद्घाटन समारोहमा झाँकी प्रदर्शन


प्रतियोगिता उद्घाटन अगाडि दमौली बजारमा झाँकी प्रदर्शन गरिएको छ । झाँकीमा जिल्लाका विभिन्न जातजाति, विभिन्न सङ्घसंस्था, क्लब, विद्यालयलगायत सर्वसाधारणको सहभागिता रहेको जिल्ला खेलकुद विकास समिति तनहुँका अध्यक्ष अनिल पाण्डेले बताए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।