साइक्लिङमा वागमती र एपिएफलाई एक–एक स्वर्ण


     एभरेस्ट आवाज    
     असाेज ३० गते २०७९ मा प्रकाशित




पोखरा

गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत भएको साइक्लिङको क्रस कन्ट्री विधामा वागमती प्रदेश र सशस्त्र प्रहरी बलको एपीएफ क्लवले एक–एक स्वर्ण पदक जितेका छन् । आईतबार पोखरामा भएको साइक्लिङको क्रस कन्ट्री विधामा महिलातर्फ वागमती प्रदेशले र पुरुषतर्फ एपिएफले एक÷एक वटा स्वर्ण पदक जितेका हुन् ।

पोखराको रानीवनमा भएको महिला क्रस कन्ट्री विधातर्फको फाइनल खेलमा १५ किलोमिटरको दुरी १ घण्टा ९ मिनेट ४८ सेकेण्डमा पुरा गर्दै वागमती प्रदेशकी लक्ष्मी मगरले स्वर्ण पदक जितिन् । उक्त दुरी १ घण्टा १२ मिनेट ३९ सेकेण्डमा पुरा गरेकी नेपाल आर्मीकी उषा खनालले रजत पदक र १ घण्टा २० मिनेट ०४ सेकेण्डमा दुरी पुरा गर्दै एपिएफकी हुमी बुढामगरले कास्य पदक जिते ।

आजै भएको पुरुषतर्फको क्रस कन्ट्री साइक्लिङको फाइनल खेलमा एपिएफले स्वर्ण र कास्य तथा त्रिभूवन आर्मी क्लवले रजत पदक जिते । १९ किलोमिटरको दुरी १ घण्टा ९ मिनेट ३८ सेकेण्डमा पुरा गर्दै एपिएफका सुरज रानाले स्वर्ण पदक जिते ।

त्यस्तै, त्रिभूवन आर्मी क्लवका हिमाल टमाटाले उक्त दुरी १ घण्टा ११ मिनेट ४३ सेकेण्डमा पुरा गर्दै रजत पदक जिते । त्यसैगरि १ घण्टा १३ मिनेट २५ सेकेण्डमा दुरी पुरा गर्दै एपिएफकै लक्ष्मण मल्लले कास्य पदक जिते ।

सात प्रदेश र तीन विभागिय गरि दश क्षेत्रबाट प्रतिस्प्रधा रहेको साइक्लिङमा डाउन हिल, क्रस कन्ट्री विधा सकिएको छभने रोड रेस इन्डीभिजुअल टाइम ट्रायल र रोड रेस मास स्टार्ट विधा बाँकी रहेको छ । साइक्लिङमा विभिन्न ४ विधामा पुरुष र महिला गरि ८÷८ स्वर्ण, रजत र कास्यका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।